२०८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः रवि लामिछाने

उनले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको बताए

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको उल्लेख गरे। दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौ गर भन्ने चुनौती दिएको भन्दै आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने उनले बताए।

उनले भने, "अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने। एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला। एकदुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ? नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ? नेपालीहरूको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरूलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन्।"

उले नेपालीहरूको सुनौलो भविष्य भन्ने दल र नेताहरूले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको आरोप लगाए।