भारतीय उद्योगी मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, २० कराेड माग

मुम्बई प्रहरीका अनुसार शुक्रबार इमेलमार्फत उनलाई उक्त धम्की आएको हो।

भारतीय उद्योगी, रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ। उनीसँग २० करोड भारतीय रुपैयाँ माग गर्दै, नदिए ज्यान मार्ने धम्की आएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

मुम्बई प्रहरीका अनुसार शुक्रबार इमेलमार्फत उनलाई उक्त धम्की आएको हो। इमेलमा लेखिएको छ, "यदि तिमीले हामीलाई २० करोड रुपैयाँ दिएनौँ भने हामी तिमीलाई मारिदिन्छौँ, हामीसँग भारतका एक नम्बर सुटर छन्।" प्रहरीका अनुसार यो धम्की शदाब खान नाम गरेका व्यक्तिले पठाएका थिए। 

मुम्बई प्रहरीले गावदेवी थानमा आईपीसीको धारा ३८७ तथा ५०६ अन्तर्गत मुद्धा दर्ता गरिसकेको छ र अनुसन्धान भइरहेको छ।

मुकेश अम्बानीलाई धम्की आएको यो पहिलोपटक भने होइन। अघिल्लो वर्ष मात्रै मुम्बई प्रहरीले मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिनेलाई बिहारबाट पक्राउ गरेका थिए। त्यतिबेला ती व्यक्तिले मुकेश अम्बानीको घर तथा रिलायन्स फाउन्डेसन अस्पतालमा बम आक्रमण गर्ने धम्की दिएका थिए।

यस्तै, सन् २०२१ मा अम्बानीको घर नजिकै विस्फोटक पर्दाले भरिएको एसयूवी भेटिएको थियो।