एमालेका लागि सरकार प्राथमिकता होइन : शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले आधारभूत विश्वव्यापी मान्यताअनुरूप शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए। 

तुलसीपुर– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन्। 

प्रेस चौतारी दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरूले समर्थन गरेको जानकारी दिए।

उनले आधारभूत विश्वव्यापी मान्यताअनुरूप नै शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए। 

महासचिव पोख्रेलले घोराही–तुलसीपुर चार ‘लेन’ निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैंकको लगानीमा शुरू भए अवस्था सुधार नहुने बताए। 

“फेरि पनि एक्जिम बैंकले चार लेन बनाउने कुरा आएको छ, नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन”, उनले भने, “एक्जिम बैंकले नै बजेट दिएर चारलेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन।”