शान्तिप्रक्रियाबारे राष्ट्रसंघका महासचिवलाई सकारात्मक सन्देश दिन सक्नुपर्छ : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टंग्याउने विषयमा दलहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा सकारात्मक सन्देश दिन सक्नुपर्ने बताउँछन्।

काठमाडौँ– सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा पछिल्लो समय देखिएका चुनौती समाधान गर्न सबै राजनीतिक दलहरूले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

शनिबार नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा उनले देशको विशेषताअनुसार फरक दर्शन र विचार भए पनि राष्ट्रिय मुद्दाका सवालमा सबै दलहरू एक भएर अघि बढ्ने नेपाली स्वभाव रहेको बताए।

“हाम्रो देशको विशेषताअनुसार भिन्न प्रकारको दर्शन भए पनि हामी सहकार्य गरेर अगाडि बढेका छौँ। देशलाई अगाडि बढाउने क्रममा जनताका समस्या र सरोकार राख्ने विषयमा हामी हातेमालो गर्दै अगाडि बढिरहेका छौँ,” उनले भने, “त्यसो हुनाले नेपाली कांग्रेस, कम्युनिस्ट पार्टीहरू, विभिन्न राजनीतिक दलहरूले आयोजना गरेका यस्तो सामाजिक समारोहमा उपस्थित हुनु स्वाभाविक र आवश्यक पनि हो।” 

उनले विगतमा अप्ठ्यारो, संकट र चुनौतीको समयमा हातेमालो गर्दै अगाडि बढेको राजनीतिक इतिहासलाई स्मरण गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै जनतालाई सकारात्मक सन्देश दिनुपर्ने बताए। “आजको चुनौती र अवसरहरू सबैमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ,” उनले भने, “समाजमा सकारात्मक सूचना दिनुपर्छ।”

शान्तिप्रक्रियालाई टंग्याउने विषयमा दलहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए। “अब संक्रमणकालीन न्यायको प्रक्रियालाई छिटो टुंग्याउन कुरामा ढिलाइ भएको थियो, अब धेरै ढिला गर्नु हुँदैन। संयुक्त राष्ट्रसंघका महासचिव आएको अवस्थामा सकारात्मक सन्देश दिएर काम गर्नुपर्छ,” उनले भने।