बंगलादेशमा प्रधानमन्त्रीको राजीनामा माग्दै भएको प्रदर्शनमा १ प्रहरीको मृत्यु, कैयौँ घाइते

बंगलादेशका दुई प्रमुख विपक्षी दलका एक लाखभन्दा बढी समर्थकले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।

तस्वीर : एपी

बंगलादेशको मध्य ढाकामा विपक्षी समूहद्वारा शनिबार गरेको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रहरीको मृत्यु भएको छ।

केही घण्टासम्म चलेको हिंसात्मक झडपमा एक अधिकारीको मृत्यु हुनुका साथै कैयौँ व्यक्ति घाइते भएका प्रहरीले पुष्टि गरेको छ। विपक्षी समर्थकको ठूलो भीडमाथि शनिबार प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो।

बंगलादेशका दुई प्रमुख विपक्षी दलका एक लाखभन्दा बढी समर्थकले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।

प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक लाइभ फुटेजमा एकपछि अर्को गरी साउन्ड ग्रिनेड पड्किएको र सडकबाट कालो धुवाँको मुस्लो उठेको देखिन्छ भने हजारौँ मानिस सुरक्षाका लागि दौडिरहेको देखिन्छ।

एएफपीका संवाददाताका अनुसार प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गर्दा राजधानीको मध्यभागका सडक र गल्लीहरूमा हिंसा फैलिएको थियो भने प्रदर्शनकारीहरूले ढुंगा र इँटा प्रहार गरेका थिए।

ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक हुसेनले भने, “विपक्षी प्रदर्शनकारीहरूले हवल्दारको टाउकोमा छुरा प्रहार गरेका थिए।”

बीएनपी र इस्लामिक पार्टी जमात–ए–इस्लामीको प्रदर्शन यस वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताइएको छ।

बंगलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन् र बंगलादेशले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा छिमेकी भारतलाई उछिनेर तीव्र आर्थिक वृद्धिको निरीक्षण गरिरहेकी छिन्, तर मुद्रास्फीति बढेको छ र उनको सरकारमाथि भ्रष्टाचार र मानवअधिकार उल्लंघनको आरोप लगाइएको छ।

प्रहरी निरीक्षक बच्चु मियाले रबरको गोलीबाट घाइते भएका कम्तीमा २० जनालाई देशकै सबैभन्दा ठूलो ढाका मेडिकल कलेज अस्पतालमा लगिएको जानकारी दिए।

शहरको सबैभन्दा ठूलो क्याथोलिक चर्चअगाडि विपक्षी समर्थकले लाठी प्रहार गर्नुका साथै एउटा बस र एउटा प्रहरी चौकीमा आगजनी गरेपछि झडप शुरू भएको थियो। 

बीएनपीले हिंसाको विरोधमा आइतबार देशव्यापी हडतालको आह्वान गरेको छ। 

पार्टीका प्रवक्ता जहीर उद्दिन स्वपनले भने, “प्रहरी र सशस्त्र सत्तारूढ दलका कार्यकर्ताले हाम्रो शान्तिपूर्ण र्‍यालीमा आक्रमण गरेपछि दुईपक्षबीच तनाव बढेको थियो।”

प्रदर्शनमा अवाञ्छित गतिविधि रोक्न र शान्ति कायम गर्न कम्तीमा १० हजार प्रहरी तैनाथ गरिएको थियो भने हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए।