प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ। आइतबार संघीय संसद नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेलाई बोलाइएको छ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। उनले 'बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०' र 'भन्सार विधेयक, २०८०' लाई पेस गर्नेछन्।

साथै सभामुखले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संसदमा गर्ने सम्बोधन सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पठाएको कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ।

यसै बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले बिमिस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेस गर्ने बताइएको छ।