हमाससँग दोस्राे चरणकाे युद्धमा इजरायल

इजरायलले अबको चरणमा हमासका मुख्य सैन्य केन्द्रमा आक्रमण गर्ने योजना बनाएको छ। नेतन्याहूले यो चरण लामो र कठिन हुने बताएका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँगको आफ्नो देशको युद्ध दोस्रो चरणमा पुगेको बताएका छन्। 

इजरायलका रक्षामन्त्री योभ गालान्टले गत हप्ता देशको संसदीय समितिलाई हमाससँग इजरायलको युद्धको तीन चरण हुने बताएका थिए। अभियानको पहिलो चरणको उद्देश्य हमासको पूर्वाधार नष्ट गर्नु थियो। उनले दोस्रो चरणमा इजरायली सेनाले हमासको प्रतिरोधी आन्दोलनको केन्द्रबिन्दु भएका लक्ष्यहरूलाई ध्वस्त पार्ने बताएका थिए। गैलान्टका अनुसार तेस्रो चरणमा इजरायलले गाजापट्टीमा रहेका आफ्ना नागरिकहरूको जीवनमा पर्ने जोखिमलाई हटाउनेछ। यससँगै इजरायली नागरिकको सुरक्षा गर्ने नयाँ सुरक्षा प्रणाली स्थापना गरिनेछ।

प्रधानमन्त्री नेतन्याहूले अब दोस्रो चरण शुरू भइसकेको बताएका छन्। इजरायलले गाजामा तीव्र हमला गरिरहेको छ। अबको चरणमा हमासका मुख्य सैन्य केन्द्रमा आक्रमण गर्ने योजना बनाएको छ। नेतन्याहूले यो चरण लामो र कठिन हुने बताएका बीबीसीले जनाएको छ। एक स्थानीय टेलिभिजन सम्बोधनमा बोल्दै उनले इजरायली कमाण्डरहरू गाजापट्टीमा तैनाथ गरिसकेको बताएका छन्। 

अहिले गाजामा फोन लाइनहरू र इन्टरनेट बन्द गरिएका छन्। अन्तर्राष्ट्रिय तहबाट युद्धविरामको लागि प्रयास भइरहे पनि इजरायल युद्धविराम गर्ने मनसायमा देखिँदैन।

गाजापट्टीमा हमासका नेता याह्या सिनवारले अक्टोबर ७ मा इजरायलसँगको द्वन्द्व शुरू भएदेखि पहिलो पटक इजरायली बन्धकहरूलाई रिहा गरेको प्रतिक्रिया दिएका छन्। उनले इजरायलले आफ्नो जेलमा रहेका हमासका बन्दीहरूलाई रिहा गरेमा गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहा गर्ने बताएका छन्। तर इजरायली प्रधानमन्त्री नेतन्याहूले हमासको यो प्रस्तावलाई आफ्नो मन्त्रिपरिषदमा छलफल भएको बताएका छन्। यद्यपी उनले यसबारे विस्तृत जानकारी भने दिएका छैनन्। बेन्जामिनले यसले उल्टो प्रभाव पार्न सक्ने बताएका छन्।

प्यालेस्टिनी विद्राेही समूह हमास र इजरायलबीचको युद्धमा अहिलेसम्म झन्डै १० हजार मानिसले ज्यान गुमाइसकेका छन्। तिमध्ये गाजा क्षेत्रमा मात्रै ८ हजार प्यालेस्टिनीको मृत्यु भएको छ। इजरायलमा १० नेपाली विद्यार्थीसहित १४०५ जनाको मृत्यु भएको छ। कञ्चनपुरका विपिन जाेशी अझै सम्पर्कविहीन छन्। उनलाई पनि हमासका लडाकुले बन्धक बनाएको हुनसक्ने बताइएको छ।