एक चौथाइ सरकारी बिदा कटौती गर्न सांसद सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एक चौथाइ सरकारी बिदा कटौती गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारी बिदा कटौती गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले हाल दिइँदै आइएको सरकारी बिदा एक चौथाइ कटौती गर्नुपर्ने धारणा राखे‍का हुन्। “सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाई कटौती गर्नुपर्छ,” उनले भने।

त्यस्तै, नेपालीको सम्पत्तिको सीमांकन गर्न विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताए। “नेपालीको सम्पत्तिको सीमा तोक्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ। किनभने अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ," उनले भने।

नेपालीले योग्यताअनुसार काम र कामअनुसार ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने उनको भनाइ छ। उनले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यस्तै, उनले बैंक तथा वित्तीय संस्थालाई पूर्ण रूपले सरकारी स्वामित्वमा ल्याएर बैंकिङ कसुर नियन्त्रण गर्न गर्नुपर्ने बताए। “विदेशी लगानी भएको बैंकिङ र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनु हुँदैन। नेपालीको लगानी हुनुपर्छ। विदेशीको लगानीले नाफा जति विदेश लाने र नेपालीहरू गरिब हुने प्रधानमन्त्रीलाई अनुभव भएकै कुरा हो,” उनले भने।

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्चाधिकारी समेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताए।