संसद् भवनअघि प्रदर्शन गर्न पुगेका शान्ति समाजका २७ जना पक्राउ

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने, ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय खारेज गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिएको समाजका अध्यक्ष बरालले बताए।

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले संसद् भवनअगाडि विरोध प्रदर्शन गरेको छ।

विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने लगायतका माग राख्दै प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, अध्यक्ष रामकृष्ण बराल लगायतका पदाधिकारी र सदस्यहरूसहित २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ। उनीहरूले संसद् भवनको पश्चिम गेट अगाडि विरोध प्रदर्शन गरेका थिए।

संसद्मा प्रस्तुत संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने तथा फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय खारेज गर्नुपर्ने लगायतका माग राख्दै विरोध प्रदर्शन गरिएको समाजका अध्यक्ष बरालले जानकारी दिए।

समाजका अध्यक्ष बरालले २१ असोजदेखि नै देशका विभिन्न ठाउँहरूमा विरोध प्रदर्शन हुँदै आएको र आइतबारको प्रदर्शन पनि त्यसकै निरन्तरता भएको बताए।