प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

महासचिव गुटेरेसलाई मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्रसचिव भरतराज पौड्यालले स्वागत गरेका थिए। चारदिने नेपालको भ्रमण गर्ने तालिकाअनुसार महासचिव गुटेरेस शनिबार राति काठमाडौँ आइपुगेका हुन्।


प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए। 

महासचिव गुटेरेसले अब राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आइतबार नै ललितपुरस्थित पाटन दरबार क्षेत्रको अवलोकन गर्ने छन्।

महासचिव गुटेरेसले नेपाल बसाइँका क्रममा पोखरा, लुम्बिनीको भ्रमण गर्नुका साथै संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव गुटेरेस नेपाल आएका हुन्। राष्ट्रसंघको महासचिव नियुक्त भएयता गुटेरेसको पहिलो नेपाल भ्रमण हो।