राष्ट्रसंघका महासचिवले गरे इजरायलमा बेपत्ता विपिनको सकुशल फिर्तीको कामना

महासचिव गुटेरेसले शान्तिप्रक्रिया अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको आदेश तथा पीडितको आवश्यकताअनुसार टुंग्याउन आग्रह गर्दै आवश्यक परे राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताए।

तस्वीर : प्रधानमन्त्री दाहालको सचिवालय

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक विपिन जोशीको सकुशल स्वदेश फिर्ताको कामना गरेका छन्।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटपछि उनले हमासको आक्रमणमा मृत्यु भएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता जोशीको सकुशल स्वदेश फिर्तीको कामना गरेका हुन्।

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिन सम्पर्कविहीन छन्। उनलाई हमासले बन्दी बनाएर लगेको अनुमान गरिएको छ।

प्रतिक्रिया स्वरूप इजरायलले गाजा क्षेत्रमा सैन्य कारबाही झनै बढाउँदा मानवीय सहायतामा समेत कठिनाइ भएको उनले बताए। उनले मानिसहरूको हत्या र घाइते बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। “मानिसको हत्या कुनै पनि कारणले सही ठहर गर्न सक्दैन,” उनले भने।

उनले युद्धरत पक्षलाई तत्काल युद्धविराम गर्न र कब्जामा रहेका नागरिकलाई रिहा गर्न अपिल गरे। गाजा क्षेत्रको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्नु पनि आह्वान गरे।

त्यस्तै, नेपालले विश्वशान्तिका लागि पुर्‍याएको योगदानको प्रशंसा गरे। नेपालले राष्ट्रसंघमार्फत शान्ति सैनिक पठाएर विश्वशान्तिका लागि खेलेको भूमिकाको उनले प्रशंसा गरेका गरेका हुन्।

महासचिव गुटेरेसले संक्रमणकालीन न्याय तथा शान्तिप्रक्रिया अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको आदेश तथा पीडितको आवश्यकताअनुसार टंग्याउन आग्रह गर्दै आवश्यक परेको अवस्थामा राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताए। 

अर्को प्रसंगमा उनले नेपालले जलवायु परिवर्तनका कारण भोगेको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको असरबारे प्रत्यक्ष अनुगमन गर्न आफू त्यस क्षेत्रमा जान लागेको पनि उल्लेख गरे।

“जलवायु परिवर्तनले समुदायमा परेको असर निक्कै नै दुखदायी छ। म त्यहाँका स्थानीयलाई भेट्ने छु र उनीहरू कसरी प्रत्यक्ष प्रभावित भएका छन् भन्नेबारे जानकारी लिनेछु,” उनले भने।

आफूले पोखरा र लुम्बिनीको भ्रमण गर्न लागेको उल्लेख गर्दै गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटो विश्व समुदायका लागि अहिले पनि महत्त्वपूर्ण र सान्दर्भिक रहेको बताए। उनले नेपाल विश्वको मित्र भएको पनि बताए।

महासचिव गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणमा चारदिने भ्रमणका लागि शनिबार राति काठमाडौँ आएका हुन्। उनी आइतबार राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै छन्।