राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिव गुटेरेसको शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

तस्वीर : रासस

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

आइतबार राष्ट्रपति भवन शीतलनिवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरेका थिए।

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए।

सो क्रममा उनीहरूबीच नेपालको शान्तिप्रक्रिया, जलवायु परिवर्तनलगायतका समसामयिक विषयमा छलफल भएको बताइएको छ।

चारदिने नेपाल भ्रमणका क्रममा रहेका महासचिव गुटेरेसले सोमबार र मंगलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मंगलबार अपराह्न ४ बजे संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणमा नेपालको औपचारिक भ्रमणका लागि उनी शनिबार राति काठमाडौँ आइपुगेका हुन्।