राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोगिरहेका नकारात्मक परिणामबारे गम्भीर हुन राष्ट्रसंघका महासचिवलाई अनुरोध गरेका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका महासचिव गुटेरेससँगको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको उपाय, जारी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा नेपालको योगदान र जिम्मेवारीलगायत समसामयिक विषयमा राष्ट्रसंघीय उच्च प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराए।
उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोग्नुपरेका नकारात्मक परिणामबारे गम्भीर हुन राष्ट्रसंघका महासचिवलाई अनुरोध गरे। उनले जलवायु परिवर्तनको असर घटाउन जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई आफ्ना दायित्व पूरा गर्नेतर्फ आवश्यक पहलकदमी लिन राष्ट्रसंघीय प्रतिनिधि मण्डलसमक्ष आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
“जलवायु परिवर्तनका कारण हामी होइनौँ, अरूले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौँ, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण बिगार्नेहरूलाई उनीहरूको दायित्व पूरा गर्न झकझक्याउनुपर्छ, जलवायु परिवर्तनका दुष्प्रभाव हामीले ब्यहोर्यौँ, अब सारा विश्व र मानवजातिले नै बेहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले त्यसविरुद्ध संयुक्त प्रयास गरौँ। त्यसको नेतृत्व राष्ट्रसंघले लिनुपर्छ,” राष्ट्रपति पौडेललाई उद्धरण गर्दै सल्लाहकार पोखरेलले बताए।
भेटका क्रममा सगरमाथा क्षेत्र, अन्नपूर्ण आधारशिविरजस्ता स्थलको भ्रमण स्वयम् महासचिवले गर्ने भएकाले सेता हिमाल कसरी काला हुँदै छन्, अतिवृष्टि र अनावृष्टिका कारण परेको प्रभाव आफैँ महसुस गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले बृहत् शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेतर्फ सरकार अघि बढेको बताए।
राष्ट्रपतिले पीडितलाई न्याय, दण्डहीनतालाई निरुत्साहित गर्ने गरी भएको अदालतको आदेश र संयुक्त राष्ट्रसङ्घको चासोलाई दृष्टिगत गरी मेलमिलापको सिद्धान्तका आधारमा बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले जानकारी दिए।
अहिलेको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रसंघको भूमिका अझ बढेको उल्लेख गर्दै राष्ट्रपतिले राष्ट्रसंघीय शान्ति ‘मिसन’को नेपाल दोस्रो ठूलो योगदानकर्ता भएको स्मरण गराउँदै शान्ति सेनामा मार्फत नेपालले गरेको योगदानका निम्ति शान्ति सेना नेपाललाई नेतृत्व तहको जिम्मेवारी उपलब्ध गराउन महासचिव गुटेरेससँग अनुरोध गरेका थिए।
महासचिव गुटेरेसले हरितगृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन ‘कोप’ प्रसंग उठाउँदै जलवायु परिवर्तनका नकारात्मक असरबारे विश्वलाई सन्देश प्रवाह गर्न आफू नेपाल भ्रमणमा आएको बताए।
आफ्नो नेपाल भ्रमण तीन ‘अजेन्डा’मा केन्द्रित रहेको जानकारी दिँदै महासचिव गुटरेसले नेपालको सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनीकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकाले यहाँ आएको बताए।
राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा तयार गरेको स्मरण गर्दै महासचिवले राष्ट्रपति पौडेलकै कार्यकालमा त्यसका बाँकी काम पूरा हुने विश्वास व्यक्त गरे।
त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पदाधिकारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो।
यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री साउदसँग बेग्लाबेग्लै भेट गरेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनले संघीय संसद् भवन नयाँबानेश्वरमा छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गरेका छन्।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयका अन्य अधिकारीहरू सहभागी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
