विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो।
तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण शुरू हुने भएको छ। तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो।
शिलान्यास भएको सात वर्षपछि भानुगृहको काम शुरू हुन लागेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए। विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो।
मञ्चकै सक्रियतामा काम पुनः शुरू हुन लागेको उनले बताए। उनका अनुसार अगामी मङ्सिरदेखि काम शुरू गर्ने तयारी छ। उनले भने, “लामो समयदेखि काम नहुँदा अब समितिकै सक्रियतामा भानुगृह बनाउने छलफल भइरहेको थियो। मञ्चका पदाधिकारीले हामीले नै बनाउँछौँ भनेर प्रतिबद्धता जनाउनुभएको छ।”
भानुगृह निर्माणका लागि मञ्चका तर्फबाट आर्थिक संकलनसमेत भएको छ। उनले भने, “सात वर्ष अगाडि भानुगृहको लागत ६८ लाख रुपैयाँ अनुमान गरिएको थियो। अहिलेको अवस्थामा एक करोड जति पुग्ला। मञ्चका तर्फबाट आर्थिक संकलन भइसकेको छ भनेपछि विकास समिति पछाडि हटेको छ।”
यस वर्ष जसरी पनि भानुगृह निर्माणको काम शुरू गर्ने तयारीमा समिति थियो। तर अब मञ्चकै सक्रियतामा काम शुरू हुने र मञ्चका तर्फबाट समितिलाई परिपत्र भइसकेको निर्देशक रानाभाटको भनाइ छ।
समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ। यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ। जंगलको बीचमा भएकाले संरक्षणविहीन अवस्थामा पुगेको छ। उनले भने, “भानुगृहको काम शुरू भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी छौँ, पानी र बत्तीको सुविधा पुगिसकेको छ।”
यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन। भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। निर्देशक रानाभाटले भने, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित भयो की भन्ने भान हामीलाई पनि हुन्छ। घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास गरेका छौँ।”
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर एक लाख रुपैयाँमा पुनःनिर्माण गरेका थिए। जंगलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब एक लाख २७ हजार रुपैयाँको क्षति भएको थियो।
भानु–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मेका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो। नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन्।
मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएको बताइन्छ। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
