विज्ञ भन्छन्ः महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरमा परिणत गर्नुपर्छ

गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्यूनीकरण, शरणार्थी समस्या समाधानलगायत विषयमा संवादको अवसरका रूपमा लिनुपर्ने विज्ञहरूले बताएका छन्।

काठमाडाैँ– विज्ञहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने सुनौलो अवसरको रूपमा लिनुपर्ने बताएका छन्।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले हिमाली र पर्वतीय क्षेत्रमा रहेका १३६ वटा राष्ट्रलाई जलवायु परिवर्तनको जोखिमबाट बचाउन राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरको रूपमा उपयोग गर्नुपर्ने बताएका हुन्।

गुटेरेसको भ्रमणलाई अवसरको रूपमा लिई नेपाल र नेपालजस्तै जलवायु परिवर्तनको जोखिममा रहेका अन्य देशहरूको हितमा परिणत गर्न पनि नेपाल सरकारलाई सुझाव दिए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले जलवायुविज्ञ उप्रेतीले महासचिव गुटेरेसले नेपालको भ्रमण गर्नुलाई नेपालमा जलवायु परिवर्तनको असर छ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै नेपालमा जलवायु परिवर्तनले पुर्‍याएको क्षति बापत ५० बिलियन अमेरिकी डलर बराबरको बजेट दिनुपर्ने बताए।

उनले भ्रमणले संयुक्त राष्ट्रसंघमा बुझाएको योजनालाई प्राथमिकतामा साथ अघि बढाउन संयुक्त राष्ट्रसंघलाई बल पुर्‍याएको पनि बताए। त्यसैगरी इजिप्टमा गत वर्ष सम्पन्न संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा हानिनोक्सानी सम्बन्धी कोष परिचालन गर्न भएको सहमति प्रभावकारी ढंगले परिचालन गर्न पनि महासचिव गुटेरेसको नेपाल भ्रमण उपयोगी हुने उल्लेख गरे। 

"पहिलो कुरा त संयुक्त राष्ट्रसंघका महासचिवको भिजिट नेपाल जस्तो देश, जो जलवायु परिवर्तनको जोखिमबाट आक्रान्त छ। र, एउटा मात्रै जोखिम नभएर बहुप्रकोपीय जोखिमबाट आक्रान्त भएको देशमा उहाँको भिजिट हुनु र यो भिजिट कुन अवस्था भएको छ भने संयुक्त राष्ट्रसंघको तयारी भइराखेको सन्दर्भमा नेपालले आफ्नो अजेन्डाको रूपमा कोप २८ मा जुन दुवैमा हुँदैछ। त्यसमा अजेन्डा तयारी गरिराखेको अवस्थामा उहाँको भिजिट नेपालमा हुँदाखेरी यसले के म्यासेज दिन्छ भन्दाखेरी पहिलो कुरा उहाँले नेपाल छान्नुमा जलवायु परिवर्तनको असर नेपालमा छ भन्ने कुराको स्पष्ट सन्देश एउटा दिन्छ," उनी भन्छन्,–  "उहाँले भ्रमणको लागि अन्नपूर्ण बेसक्याम्प, सगरमाथालगायत जुन क्षेत्र छान्नुभएको छ। जलवायु परिवर्तनले हिमाली क्षेत्र आक्रान्त छ। हिमालको हिउँ पग्लिराखेको अवस्था छ। हिउँ पग्लिनु भनेको चाहिँ हाम्रो पानीको जुन स्रोत हो। त्यसमा धक्का पुग्नु हो। त्यो धक्का पुग्ने ठाउँबाट पनि त्यसलाई पनि उहाँले अन्तर्राष्ट्रिय लेभलमा सोकेस गर्न सक्नुहुन्छ। यी समग्रतामा हेर्ने हो भने यो भ्रमणलाई उपलब्धिमा परिणत गर्न सक्नुपर्दछ।"

यस्तै, नेपालले जलवायु परिवर्तनसम्बन्धी दुबई सम्मेलनमा अतिकम विकसित देशहरूको अध्यक्ष राष्ट्रको हैसियतले पनि सम्बोधन गर्ने भएकाले पनि त्यसैमा केन्द्रित भएर महासचिव गुटेरेससँग छलफल गर्नुपर्ने विज्ञ उप्रेतीको भनाइ छ।

जेनेभास्थित राष्ट्रसंघीय नियोगहरूका लागि नेपालका पूर्वराजदूत डा. दिनेश भट्टराई गुटेरेससँग यही माैकामा संक्रमणकालीन न्यायदेखि भुटानी शरणार्थीसम्मका विषयमा कुरा गर्ने अवसर मिलेको बताउँछन्।

गुटेरेसले सन् २००७ मा नेपालको भ्रमण गर्दा पूर्वी नेपालको शरणार्थी क्याम्पमा भ्रमण गरेका र सो अवसरमा भुटानी शरणार्थी व्यवस्थापनका लागि धेरै सहयोग गरेको उल्लेख गर्दै बाँकी ६ हजार भुटानी शरणार्थीहरूलाई पनि सम्मानजनक व्यवस्थित गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको उनले बताए।

यस्तै, बेपत्ता पारिएका व्यक्तिका परिवारको समस्यालाई समाधान र सम्बोधन गरेर मात्रै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू टुंग्याउनुपर्नेमा उनले जोड दिए। विकसित राष्ट्रहरूको औद्योगिकरणबाट जलवायु परिवर्तनमा परेको असर र नेपालले खेप्नुपरेको समस्या पनि महासचिव गुटेरेसलाई जानकारी गराउनुपर्ने उनले बताए। यस्तै, नेपालले विश्व शान्तिका लागि गर्दै आएको सहयोग र योगदानका बारेमा जानकारी गराउन आवश्यक रहेको पनि उल्लेख गरे।

"महासचिवको नेपाल भ्रमणमा नेपालले प्रस्तुत गर्नुपर्ने ३/४ वटा कुराहरू छन्। एउटा प्रधानमन्त्रीज्युले नै भन्नुभएको छ, शान्ति प्रक्रियासँग सम्बन्धित, जुन सत्य निरुपण मेलमिलाप हो। अर्को संक्रमणकालीन न्याय भन्नुस्। अनि बेपत्ता पारिएका व्यक्तिहरूको, परिवारहरूको जुन गुनासो छ, तिनीहरूको, सरोकारवालाको कुराहरू तार्किक निष्कर्षमा पुर्‍याउनका लागि हामीलाई सहयोग गर भनेर प्रधानमन्त्रीले आफ्नो सम्बोधनमै भनेको अवस्था छ," उनले भने, "नेपालले विश्वशान्तिका लागि ठूलो योगदान गर्दै आइरहेको मुलुक हो। सन् १९५८ देखि निरन्तर रुपमा शान्ति सेना पठाएर विभिन्न स्थानमा अफ्ठ्यारोमा खटाएर शान्ति बनाउने कार्यमा सहयोग गरिरहेका छौँ। त्यस सन्दर्भमा पनि कुरा होलान्। हामी अति कम विकसित देश हौँ। भूपरिवेष्ठित देश पनि हौँ। नेपाल अहिले अति कम विकसित देशको अध्यक्ष छ। नेतृत्व गरिरहेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आपसी समझदारी गरेर, वार्ता गरेर कसरी समस्या समाधान गर्न सकिन्छ र समाधानतर्फ अग्रसर हुन सकिन्छ? भन्नेकुरा पनि सरसल्लाह होला।"