ट्राफिक जाँचमा पर्दा नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने

ट्राफिक जाँचका क्रममा नागरिक एपमार्फत देखाइएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको छ।

काठमाडौँ– ट्राफिक चेकजाँचमा परेको अवस्थामा नागरिक एपमार्फत देखाइएको सवारीचालक अनुमति पत्र (लाइसेन्स)को प्रतिलाई मान्यता दिने व्यवस्था गरिएको छ।

ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाएका व्यक्तिले नागरिक एपमार्फत देखाइएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था सोमबारदेखि देशव्यापी रूपमा कार्यान्वयनमा आएको हो।

“नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारीचालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको ब्यहोरा जानकारी गराउँदछौँ,” नागरिक एपले फेसबुकमा जारी गरिएको सूचनामा भनिएको छ। 

नागरिक एपमा नजोडिएका सवारी लाइसेन्स बाहकलाई तत्काल जोडिन पनि अनुरोध गरिएको छ। यसअघि नागरिक एपमा जोडिएको सवारी लाइसेन्सलाई ट्राफिक प्रहरीले नचिनेको भन्ने गुनासो उठ्दै आएको थियो।

सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यसाथ सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा अन्य विभिन्न सरकारी सेवाहरू पनि जोडिएका छन्। एपमा नागरिकताको विवरण हेर्ने, स्थायी लेखा नम्बर लिन सकिने, पुलिस रिपोर्ट लिन सकिने, सवारी कर, आफ्नो मालपोत तथा जग्गाको विवरण हेर्ने सकिने, लोकसेवाको आवेदन भर्न सकिने राहदानीको विवरण हेर्न सकिने लगायतका सुविधा छन्।