राष्ट्रिय मर्यादासम्बन्धी विधेयकको प्रतिवेदन मंगलबार राष्ट्रियसभामा पेस गरिने

विधायन व्यवस्थापन समितिले मंगलबार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमाथिको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन्। 

काठमाडौँ– विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सम्बन्धी प्रतिवेदन मंगलबारको संसद् बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सो विधेयकका सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले प्रतिवेदन प्रस्तुत गरेसँगै बैठकमा आवश्यक छलफल गरी यस्तो निर्णय गरिएको हो। बैठकले मंगलबार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमाथिको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरिएको समिति सभापति जयन्तीदेवी राईले बताइन्। 

राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमाथि समितिमा सोमबार छलफल भएको थियो। छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक पहिल्यै अगाडि नै आउनुपर्ने भए पनि ढिलो गरी आएको बताइन्। छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मंगलबारको संसद् बैठकमा पेस हुने उनको भनाइ छ। 

त्यसअघि सांसदहरूले विधेयक गृह मन्त्रालय तथा मन्त्रिपरिषद्मा नलगी सिधै संसद्मा पेस गर्नुपर्ने धारणा राखेका थिए। राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मन्त्रिपरिषद्मा नभई सिधै संसद्मा पेस हुनुपर्ने बताए। उनले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक गृह मन्त्रालयले पहिल्यै ल्याएको भए स्वागतयोग्य हुने भए पनि अब भने गृह मन्त्रालयमा विधेयक पुर्‍याएर संसद्मा लैजानु नहुने धारणा राखे। 

“विधेयक क्याबिनेटबाट लैजाने कुरामा हामी तयार छैनौँ। किनभने यो संसदको सम्पत्ति हो। सरोकारवालासँग पहिला छलफल नगर्ने अनि संसद्मा पेस गरेपछि बाहिरको सरोकारवालासँग छलफल गर्ने र संसद्लाई गुमराहमा राख्ने काम संसदीय मर्यादा बाहिरको हो। फेरि यही कुरा गृह मन्त्रालयमा जानु भनेको पास नगर्ने नियत हो,” उनले भने। 

त्यस्तै, राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेका नेता देवेन्द्र दाहालले राष्ट्रिय मर्यादाको अन्यौल अन्त्य गर्न विधेयक आवश्यक रहेको बताए। उनले सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिको मर्यादामा र अतिविशिष्ट तथा विशिष्टहरूको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषय विधेयकमा समेटिएको जनाए।