बारामा गोली हानी शिक्षकको हत्या

बारामा अज्ञात समूहले प्रहार गरेको गोली लागी घाइते भएका शिक्षक रुपेश स्वर्णकारको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ– बाराको कलैयामा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जना शिक्षकको मृत्यु भएको छ। स्थानीय बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।

घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्जको बयोधा अस्पताल लगिएको थियो। 

सोही अस्पतालमा उपचारका क्रममा दिउँसो २ बजेतिर मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी कुबेर कडायतले जानकारी दिए। गोली कसले र किन हान्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले गोली प्रहार गर्नेको खोजी कार्य भइरहेको जनाएको छ।