विश्वसमुदायलाई खुम्बुबाट जलवायु परिवर्तनका असरबारे गुटेरेसको ध्यानाकर्षण

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले खुम्बुबाट जलवायु परिवर्तनले हिमालयक्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि विश्वसमुदायको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताएका छन्।

सगरमाथा क्षेत्रको अवलोकनका लागि सोमबार बिहान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुगेका थिए। उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्वसमुदायको ध्यानाकर्षण गरे।

“म अहिले यहाँ हिमालयमा छु। जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन्। अन्टार्टिका र ग्रीनल्यान्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्,” गुटेरेसले भनेका छन्, “हामीले बाढी पहिरो देख्नुपरेको छ। यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ। हामीले यसलाई रोक्न जरुरी छ।”

जलवायु परिवर्तनले हिमालयक्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि आफूले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको उनले उल्लेख गरे। “हामीले बढ्दो तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न सक्नुपर्छ। यसबाट हामी पछि हट्न सक्दैनौँ,” उनले भिडियो सन्देशमार्फत भनेका छन्।