विन्दु कुमारीको स्थानमा सञ्जिला यादवलाई सांसद बनाउने जसपाको निर्णय

जसपाले मधेश प्रदेशसभामा रिक्त समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ।

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा), नेपालले मधेश प्रदेशसभामा रिक्त रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो।

समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवको नाम चयन गरिएको हो। सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेश प्रदेशसभामा रिक्त समानुपातिक सांसदका लागि यादवलाई पठाउने निर्णय गरेको बताए।

उनले बैठकमा संघीय संसद्मा पेस हुन लागेका ऐनहरूको बारेमा पनि छलफल भएको बताए। “सरकारको बारेमा कुनै छलफल भएको छैन। विभिन्न ऐनहरूका आउँदै छ, ती ऐनहरूबारेमा कस्तो छ भन्नेमा छलफल भएको छ। शिक्षा ऐन, गिटी बालुवा निकासी ऐनलगायतमा छलफल भयो,” उनले भने।