इजरायलमा ज्यान गुमाएका थप २ नेपाली विद्यार्थीको शव पहिचान

पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ।

काठमाडौँ– दक्षिणी इजरायलमा प्यालेस्टिनी सैन्य समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका सबै नेपाली विद्यार्थीको शव पहिचान भएको छ। 

तेल अभिभस्थित नेपाल राजदूतावासले सोमबार विज्ञप्ति जारी गर्दै थप दुई नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएसँगै यो घटनामा ज्यान गुमाएका १० जनाकै शव पहिचान सकिएको हो। राजदूतावासका अनुसार राजेशकुमार स्वर्णकार र अनन्द साहको शव पहिचान भएको हो। यसअघि आइतबार थप तीन शव पहिचान भएको दूतावासले जनाएको थियो।

अक्टोबर ७ का दिन हमासले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। तीमध्ये पहिचान खुलेका पाँच नेपाली विद्यार्थीको शव नेपाल ल्याइसकिएको छ। पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने तयारी भइरहेको पनि दूतावासले जनाएको छ। उक्त आक्रमणपछि नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन छन्। उनको खोजी जारी रहेको बताइएको छ।

हमासले गरेको आक्रमणपछि जबाफी कारबाही भन्दै इजरायले लगातार गाजा क्षेत्रमा आक्रमण गर्दा आठ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको अधिक रहेको बताइएको छ। हमासको आक्रमणबाट इजरायलमा एक हजार चार सय इजरायलीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।