अन्नपूर्ण आधारशिविर भ्रमण गरेर महासचिव गुटेरेस लुम्बिनी जाँदै

मंगलबार बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यहाँ पुगेका गुटेरेसले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका छन्।

काठमाडाैँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारशिविर भ्रमण गरेका छन्। मंगलबार बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यहाँ पुगेका गुटेरेसले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका छन्।

नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस आधारशिविर भ्रमणपछि लुम्बिनी जानेछन्। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी जाने कार्यक्रम रहेको छ।

हेलिकोप्टरमा लुम्बिनी पुगेपछि महासचिवलाई चार नम्बर गेटबाट गाडीमा शान्तिदीपमा लगिने छ। लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन्।

महासचिवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ। मन्त्री किराती र मुख्यमन्त्री चौधरी सोमबार नै लुम्बिनी आइपुग्नुभएको छ। प्रधानमन्त्री दाहाल आज बिहान काठमाडौँबाट आउने कार्यक्रम छ।

महासचिवले लुम्बिनीमा वृक्षरोपण गर्नेछन्। लुम्बिनीमा डेढ घण्टा बिताएपछि उनी काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए।