बारा शिक्षक हत्या प्रकरण: ६ जना पक्राउ

पक्राउ पर्नेमा एकजना महिला रहेको र उनी बाल एकता स्कुलकै पूर्व शिक्षिका रहेको खुलेको छ।

काठमाडौँ– बारामा शिक्षकको गोली प्रहार गरी हत्या भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले प्रारम्भिक अनुसन्धानका क्रममा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार तीमध्ये तीनजना नेपाली र तीनजना भारतीय नागरिक रहेका छन्। घटना लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

“हामीले ६ जनालाई पक्राउ गरेका छौँ। घटनाका बारेमा अनुसन्धान भइरहेको छ,” उनले भने,“पक्राउ परेकाहरूको बयानबाट केही कुरा खुल्ला।”

बाराका अर्का एक प्रहरी अधिकृतका अनुसार बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको यस अघि पनि हत्याको प्रयास भएको खुलेको छ।

पक्राउ परेकाहरूले दिएको प्रारम्भिक बयानका क्रममा स्वर्णकारलाई यसअघि नै हत्या गर्ने प्रयास भएको थियो। तर, त्यतिबेला उनले भागेर ज्यान बचाएका थिए। सोमबार हत्या भएपछि प्रहरीले मुख्य योजनाकारसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ।

स्वर्णकारको हत्या किन गरिएको भन्ने विषयमा भने अझै केही खुलिसकेको छैन। पक्राउ पर्नेमा एकजना महिला रहेको र उनी बाल एकता स्कुलकै पूर्व शिक्षिका रहेको खुलेको छ।

सोमबार दिउँसो खाजा लिन बजार निस्केको बेला दुईवटा मोटरसाइकलमा आएको समूहले ३९ वर्षीय स्वर्णकारमाथि गोली प्रहार गरेको थियो। उनको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो। बाराका प्रहरी प्रवक्ता न्यौपानेले पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताए।