गाजाका नागरिकको जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणपत्र

मानवअधिकार तथा शान्ति समाजले गाजामा नागरिकको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले गाजाका नागरिकको जीवनरक्षा निम्ति संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको छ। मंगलबार समाजले गाजामा नागरिकको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको हो।

शान्ति समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बरालले हमासको क्रियाकलापले मानवअधिकारको उल्लंघन भएको भन्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्रमार्फत ध्यानाकर्षण गराइएको बताए। “हामी शान्तिका लागि यहाँ उभिएका छौँ। हाम्रो चासो हमासको क्रियाकलापले मानव सभ्यतालाई कहाँ पुर्‍याउँछ भन्नेमा हो, त्यसमा सचेत रहन महासचिवको ध्यानाकर्षण गराएका छौँ,” उनले भने।

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले इजरायलको बर्बरता र हमासको क्रियाकलाप दुवैबाट विश्वशान्तिका लागि खतरा पैदा भएको बताए। उनले अन्तर्राष्ट्रिय मानवअधिकारको सम्मान गर्न मानवताविरुद्धको अभियान बन्द गर्न इजरायललाई आग्रह गरे।

“इजरायलको बर्बरता र हमासको आतंक दुवै विश्वशान्तिका लागि खतरा छ। हामी इजरायललाई आग्रह गर्दछौँ, अन्तर्राष्ट्रिय मानवअधिकारको सम्मान गर्नुहोस्, मानवताविरुद्धको अभियान बन्द गर्नुहोस्,” उनले भने, “गाजाका ११ लाख मानिसलाई बस्ती छोड्ने र अस्पताल खाली गर्ने यो सबै मानवताविरुद्धको अभियान र विद्युत् औषधि कटौती गर्ने जस्ता काम रोक्नुपर्छ।”


उनले इजरायललाई गाजामाथिको आक्रमण रोक्न लगाउने एवं नेपाली विद्यार्थी विपिन जोशीसहित बन्धक बनाएका सबैलाई रिहा गराउने सम्बन्धमा प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरे। 

चारदिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेरले मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वशान्तिको काम गरेका थिए। उनले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भइरएको द्वन्द्व अन्त्य गर्नसमेत आह्वान गरे।

अक्टोबर ७ का प्यालेस्टिनी लडाकु समूह हमासले दक्षिण इजरायलमा आक्रमण गर्दा विभिन्न देशका नागरिकसहित एक हजार ४०० जनाको मृत्यु भएको थियो। मृतकमध्ये अधिकांश सर्वसाधारण नागरिक थिए। त्यसको जबाफी कारबाही भन्दै इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा अहिलेसम्म ८ हजार ३०० बढीको मृत्यु भएको छ। हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमध्ये महिला र बालबालिकाको संख्या अधिक छ।