प्रचण्डले भने – ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक

अध्यक्ष दाहालले मंसिर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्ने बताए।

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको धारणा व्यक्त गरेका छन्।

काठमाडौं–२ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाइ थियो।

बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले भने, "ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक संघर्षशील महिला हो। त्यस कारण यो अवसर भनेको यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ।"

अध्यक्ष दाहालले मंसिर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्नेसमेत दोहोर्‍याए।

उनले केपी ओली र उनको गठबन्धनले फेरि जितेर आए संविधान च्यात्ने भएकाले उनीहरूलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढ्नुपर्ने बताए। ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको उनको आरोप थियो।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न सकिए मुलुक विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे। उनले सत्तारूढ दलहरू प्रतिगामी शक्तिलाई परास्त गरेर सम्पूर्ण शक्तिको साथ मुलुकको समृद्धिको अभियानमा लाग्न प्रतिबद्ध रहेको पनि बताए।