गुटेरेससामु शान्तिप्रक्रियाबारे देश विभाजित देखाउन खोजिएको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियाबारे राम्रो धारणा राखे तापनि नेपालकै नेताहरूले देश विभाजित छ भनेर देखाउन खोजेको गुनासो गरे।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका क्रममा शान्तिप्रक्रियाको विषयमा देश विभाजित रहेको देखाउन खोजिएको गुनासो गरेका छन्।

मंगलबार संसद्मा महासचिव गुटेरेसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले शान्तिप्रक्रियाबारे देश विभाजित भन्ने देखाउन खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका हुन्।

उनले महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियाबारे राम्रो धारणा राखे तापनि नेपालकै नेताहरूले देश विभाजित छ भनेर देखाउन खोजेको गुनासो गरे। उनको टिप्पणी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित थियो। अध्यक्षले ओलीले महासचिव गुटेरेससँगको भेटेमा प्रधानमन्त्री दाहालकै कारण शान्तिप्रक्रियालाई टुंग्याउन असहज भएको बताएका थिए।

प्रधानमन्त्री दाहालले नेपालको शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रसंघ र महासचिव गुटेरेसको पूरै सहयोग रहन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि बताए। आफ्नो निमन्त्रणमा आएका गुटेरेसको नेपालको औपचारिक भ्रमण सफल हुनु गर्वको विषय भएको बताएका उनले तर केही नेताहरूले देश विभाजित छ भनेर देखाउन खोजेको भन्दै असन्तुष्टि जनाएका हुन्।

“नेपालको शान्तिप्रक्रियाबारेमा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघका महासचिवको राम्रो धारणा छ,” उनले भने, “तर दुर्भाग्य हाम्रै केही नेता साथीहरूले यस्तो बेलामा देश विभाजित देखाउनुभयो त्यो भने दुर्भाग्यपूर्ण छ।”