कोशी प्रदेश सरकारमा सहभागी नहुने जसपाको निर्णय

कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको जसपाले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भने यथावत् राख्ने भएको छ।

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउने भनिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने निर्णय गरेको छ। सुनसरीको इटहरीमा मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो।

जसपा प्रदेश कमिटी अध्यक्ष दीपक याक्खाले बैठकले पार्टी तत्काल कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको बताए। “मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा धारणा सार्वजनिक गर्नुभएको छैन,” याक्खाले भने, “उहाँले पहिचान पक्षधरलाई सम्बोधन हुने गरी धारणा सार्वजनिक गर्नुभयो भने सरकारमा सहभागिताबारे छलफल हुनेछ।”

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएको जसपाले सरकारप्रतिको समर्थन भने यथावत् राख्ने भएको छ।

कार्कीलाई समर्थन गरेको नेकपा एमालेले माओवादीसहित गठबन्धनका अरू दलको सहभागिता सरकारमा हुनु नहुने अडान राख्दै आएको छ भने माओवादीले एमाले तत्काल सरकारबाट अलग हुनुपर्ने बताउँदै आएको छ।

मुख्यमन्त्री कार्कीले शपथ लिएकै दिन कांग्रेसका एक जना र एमालेका एक जना प्रतिनिधिलाई सहभागी गराउँदै मन्त्रिमण्डल गठन गरेका थिए। उनीहरू दुवै जना हाल बिनाविभागीय मन्त्रीका रूपमा छन्। 

एमालेले पाँच वटा मन्त्रालयमा आफ्नो दाबी प्रस्तुत गरेको छ। सरकारमा कुन–कुन दललाई सहभागी गराउने भन्ने विषय टुंगो नलाग्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भइरहेको छ। 

मुख्यमन्त्री कार्कीले भने प्रदेश सरकार सर्वदलीय सहमतिका आधारमा विस्तार गर्नुपर्ने अवस्था रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।