अमेरिकी नागरिकता लिएपछि त्यसलाई नत्यागेको र पुनः नेपाली नागरिकता नलिएको विवादमा मुछिएका रवि लामिछानेमाथिको आरोप पुष्टि भएमा उनको उम्मेदवारी मात्र खारेज हुँदैन, नागरिकतासम्बन्धी कसुर पनि लाग्न सक्छ।
काठमाडौं– चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको उम्मेदवारी के होला भन्ने चासो चुलिएको छ। लामिछानेले अमेरिकी नागरिकता नत्यागेकाले उनको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि यो विषय चर्चामा आएको हो।
मंगलबार लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजकुमार पाण्डेले उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता गराएका थिए। उजुरी दर्तासँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक साता (मंसिर ५) भित्र अमेरिकी नागरिकता त्यागेको हो÷होइन भन्ने स्पष्टीकरण पेस गर्न भनेको छ। त्यसपछि पुनः नेपाली नागरिकता लिएको सम्बन्धमा प्रमाणसहित विवरण पेस गर्न पनि निर्देशन दिएको छ। उनलाई दिइएको ७ दिनको समय सीमाभित्र मंसीर ४ गते निर्वाचन हुँदै छ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा नेपाली नागरिकता कायम नरहने व्यवस्था उल्लेख छ। दफा १० को उपदफा १ मा ‘नेपाली नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भनिएको छ। यो व्यवस्थाअनुसार लामिछानेले जहिलेदेखि अमेरिकी नागरिकता लिए, सोही मितिबाट उनको नेपाली नागरिकता स्वतः बदर भइसक्छ। त्यसपछि उनले पुनः नेपाली नागरिकता लिन नेपालको संविधान र नागरिकता ऐनले निर्दिष्ट गरेको प्रक्रिया अपनाएको हुनुपर्छ।
नागरिकता ऐनको दफा ११ मा पुनः नेपाली नागरिकता कायम हुने व्यवस्था छ। त्यो व्यवस्थाअनुसार कुनै पनि नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने व्यवस्था छ।
नागरिकताको विषय विवादमा मुछिएपछि लामिछानेले सार्वजनिक रूपमा दिएको स्पष्टीकरणमा यसबारे प्रस्ट केही खुलाएका छैनन्। सर्वोच्च अदालत बार एसोसियसनका कार्यसमिति सदस्य, अधिवक्ता विकास भट्टराई पुनः नागरिकता प्राप्तिका लागि लामिछानेले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको वा नगरेको प्रस्ट भई नसकेकाले शंकाको घेरा कायम रहेको बताउँछन्।
“यो मितिमा विदेशी नागरिकता त्यागेर पुनः प्राप्त गरेको हो भन्नेबारे उहाँले प्रस्ट पार्न सक्नुभएको छैन। त्यसैले पनि उहाँमाथिको उजुरी पुष्टि हुने देखिन्छ”, उनले भने, “उहाँले स्पष्ट पार्न नसकेको देखिएकाले यस विषयमा आयोगले नै थप निर्णय गर्ला।”
मंगलबार आफूविरुद्ध उजुरी परेपछि लामिछानेले बुधबार फेसबुक लाइभमा आएर आफ्नो नागरिकतासँग जोडिएको विषय चार वर्ष पहिल्यै समाधान भइसकेको दाबी गरेका थिए।
“आयोगलाई स्पष्टीकरण पठाइ नै हाल्छु। ४ वर्षअघि नै समाधान भइसकेको विषय हो। उजुरी पर्नु ठूलो कुरा होइन, यसलाई सम्बन्धित निकायले हेर्ला”, उनले भनेका छन्, “निर्वाचनको समयमा हामीमाथिको अर्को आक्रमण हो। आयोगको स्पष्टीकरणको जवाफ दिने नै छु। नागरिकताका आधारमा नै मैले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाएको हुँ र मेरो उम्मेदवारी पनि त्यसकै आधारमा भएको हो।”
नागरिकता ऐनले विदेशी नागरिकता त्यागेपछि नेपालको नागरिकता लिन पाउने व्यवस्था गरेको छ। तर, त्यसका लागि विदेशी नागरिकता त्याग गरेको प्रमाणसहित पुनः नागरिकताका लागि आवश्यक प्रक्रिया पुरा गरेको हुनुपर्दछ।
नागरिकता मामिलाका जानकार पूर्वगृहसचिव उमेशप्रसाद मैनालीले नेपालमा दोहोरो नागरिकताको प्रावधान नरहेकाले अर्को देशको नागरिकता लिनासाथ नेपालको नागरिकता स्वतः खारेज हुने कानुनी व्यवस्था रहेको बताए। “पुनः नेपालको नागरिकता प्राप्त गर्नका लागि विदेशको नागरिकता त्यागेको प्रमाण ल्याएर अनुसूची भर्नुपर्छ र त्यसपछि मात्र नेपालको नागरिकता पुनः कायम हुन्छ। अब यो प्रक्रिया पुरा गरिएको छ कि छैन भन्ने प्रश्न हो ?”, मैनालीले उकालोसँग भने।
नागरिकता ऐनले विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने व्यवस्था गरे पनि लामिछानेले निस्सा दिएको वा नदिएको केही प्रस्ट्याएका छैनन्। उनले अमेरिकी नागरिकता त्यागेपछि थप प्रक्रिया भने केही नगरेको बताएका छन्।
लामिछानेले नयाँ प्रक्रियाबाट नागरिकताको प्रतिलिपि प्राप्त नगरी रद्द भइसकेको पुरानै नागरिकताको आधारमा उम्मेदवारी दिएको भए उनको उम्मेदवारी खारेज हुने जानकारहरू बताउँछन्। त्यो अवस्थामा उनले चुनाव जिते पनि ‘अयोग्य’ घोषित हुने, नागरिकतासम्बन्धी कसुरमा दण्डित पनि हुनसक्ने उनीहरूको भनाई छ।
“अहिले उजुरी नै ढिलो भयो, समयमै उजुरी आएको भए निर्णय पनि चाँडै आउँथ्यो। उजुरीमा गरिएको दाबी पुष्टि भयो भने उम्मेदवारी रद्द हुने मात्र होइन, जितेमा पद पनि जान्छ। त्यहाँ फेरि चुनाव गराउनुपर्ने हुनसक्छ। खारेज भएको नागरिकता त मान्य हुँदैन नि”, पूर्वगृहसचिव मैनालीले भने, “उजुरीमा भनिए जस्तै हो भने त उनी गैरनेपाली ठहर्छन्। त्यो अवस्थामा उम्मेदवारी कायम रहने कुरै भएन। त्यो कानुनी रूपमा नै दण्डनीय ठहरिन्छ।”
पर्यटक भिसामा नेपालमा बसेर टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेको भन्दै आलोचना भएपछि लामिछानेले काठमाडौंस्थित अमेरिकी दूतावासमा गएर दस्तुरसहित अमेरिकी नागरिकता–राहदानी बुझाएका थिए। त्यसपछि भने उनले नेपाली नागरिकता पुनः प्राप्त गरेको वा नगरेकोबारे केही बताएका थिएनन्।
निर्वाचन आयोगले लामिछानेविरुद्ध परेको उजुरीका सम्बन्धमा अध्ययन गरेर प्रमाणको आधारमा निर्णय गर्ने बताएको छ। आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्क्योलमा पुगिने बताए।
नेपाल नागरिकता नियमावली, २०६३ ले विदेशी नागरिकता लिएर नेपालको नागरिकता त्याग गर्नेबारे नेपालका निकायलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरेको छ। ‘कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली कूटनीतिक नियोगका अधिकारीमार्फत नागरिकताको सक्कल प्रमाणपत्र फिर्ता निवेदन दिनुपर्ने’, नियमावलीमा भनिएको छ।
यो प्रक्रियापछि त्यस्तो व्यक्तिको नागरिकता खारेज भएको अभिलेख सम्बन्धित जिल्ला प्रशासन कार्यालयले राख्ने व्यवस्था छ। लामिछानेले अमेरिकी नागरिकता लिए पनि नेपाली नागरिकता फिर्ता नगरेको र कानुनी प्रक्रियामा नै नगएको स्वीकारेका छन्। उनको यो स्वीकारोक्तिले विदेशी नागरिकता त्यागेको प्रमाण बुझाएर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको प्रस्ट हुन्छ।
नेपाल नागरिकता नियमावली, २०६३ को नियम ९ मा नेपाली नागरिकता त्याग गर्ने कार्यविधि र नियम ११ मा पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधि उल्लेख गरिएको छ। त्यसमा भनिएको छ, ‘ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।’ लामिछानेले यो ढाँचामा निवेदन दिएको वा नदिएकोबारे अझैँ प्रस्ट्याएका छैनन्।
सोही नियमको उपनियम २ (१) बमोजिम सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची १२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम–८ बमोजिमको अधिकारीले साबिककै नागरिकताको विवरणसहितको नेपाली नागरिकता प्रमाणपत्र जारी गर्ने व्यवस्था छ। कानूनले त्यसरी नागरिकता जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरूङ आरोप छिनोफानो नहुन्जेल उम्मेदवारी कायमै रहे पनि उजुरीमा गरिएको दाबी पुष्टि भएमा उम्मेदवारी रद्द हुनुका साथै जिते पनि पद नै रिक्त हुने बताउँछन्। “विदेशको नागरिकता लिइसकेपछि विधिपूर्वक अमेरिकी नागरिकता त्यागेको भनेर जानकारी दिएर जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया अनुसार पुनः नागरिकता लिए नलिएको अनुसन्धानबाट टुंगो लाग्ला”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
