कञ्चनपुरको गाउँ-गाउँमा खेलकुद प्रतियोगिता

प्रायः हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय तह, वडा र युवा क्लबको आयोजनामा धमाधम सञ्चालन भइरहेका छन्।

कञ्चनपुर– दशैँ–तिहारलगायत चाडपर्वको रौनकता छाएसँगै कञ्चनपुरमा खेलकुद गतिविधि सञ्चालनले व्यापकता पाएको छ। प्रायः हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय तह, वडा र युवा क्लबको आयोजनामा यहाँ धमाधम सञ्चालन भइरहेका छन्।

गत असोजको अन्तिम साता जिल्ला भलिबल संघ र नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाको आयोजनामा पहिलोपटक महाकाली नदीमा एक लाख रुपैयाँ राशिको पुरुष खुला तथा भेट्रान बिचभलिबल प्रतियोगिता आयोजना भयो। त्यससँगै दोधारा चाँदनीमा स्थानीय अनलाइनको आयोजनामा ७५ हजार रुपैयाँ पुरस्कार राशिको डे–नाइट क्रिकेट प्रतियोगिता पनि सम्पन्न भएको छ।

त्यसैगरी आगामी शुक्रबारदेखि शुभ दीपावलीको अवसर पारेर बेल्डाँडी गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ। बेल्डाँडी समाजको आयोजनामा हुने प्रतियोगितामा उपाधि विजेता ५५ हजार ५५५ रुपैयाँ नगदसहित पुरस्कृत हुनेछन्। बेल्डाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्न युवाहरूको व्यस्तताको लागि पनि खेल आवश्यक रहेको बताए।

स्वास्थ्यको लागि खेलको महत्व रहेको जनाउँदै उहाँले बेल्डाँडीमा खेलाडीका लागि खेलमैदान आवश्यक रहेको र त्यसका लागि स्थानीय तहले पहल गरिरहेको बताए। जिल्ला खेलकुद विकास समितिका सदस्य एवं फुटबल खेलाडी विकास महताले कञ्चनपुरमा दक्षिण क्षेत्र र दोधारा चाँदनीमा दशैँअघिदेखि विभिन्न कप तथा प्रतियोगिता निरन्तर भइरहेको बताए।

“चाडपर्वका बेला भए पनि आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादन र खेलको विकासमा महत्त्वपूर्ण योगदान रहन्छ”, सदस्य महताले भने, “सदरमुकाम महेन्द्रनगरभन्दा पहिले ग्रामीण भेगमा खेल गतिविधि दोब्बरले बढेका छन्।”

त्यसैगरी यहाँको लालझाडी गाउँपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता आयोजना हुँदैछ। बुधबारदेखि शुरू हुन लागेको उक्त फुटबल प्रतियोगितामा १६ टिम सहभागी छन्। प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार रुपैयाँ र उपविजेता टिमले नगद पुरस्कार एक लाख २५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन्।

त्यस्तै बेल्डाँडी गाउँपालिकामा केही समयअघि चाडपर्वलक्षित आयोजित बेलडाँडी फुटबल महोत्सव सम्पन्न भएको थियो। बेलडाँडी क्षेत्रकै ठूलो धनराशि एक लाख एक हजार १११ को फटुबलको उपाधीसहित नेपाल प्रहरीको टिम प्रथम भएको थियो।

त्यसैगरी भीमदत्त नगरपालिका वडा नं १२ को आयोजनामा वडा कप क्रिकेट प्रतियोगिता ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयमा जारी छ। वडा नं १२ का वडाध्यक्ष भूपेन्द्र रावलले प्रपितयोगितामा २८ वटा टिमको सहभागिता रहेको बताउँदै पाँचाैँपटक आयोजनक भएको संस्करणले क्रिकेटको विकासमा टेवा पुग्नेमा जोड दिए।

“दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सन्दीप जोरा र विनोद भण्डारीजस्ता खेलाडी हाम्रो नगरपालिकाका हुन्”, उनले भने, “उहाँहरूजस्ता खेलाडी भएको भीमदत्तमा अहिले क्रिकेट चलायमान भएको छ।”

उक्त प्रतियोगितामा उपाधि विजेता टिमले एक लाख ५१ हजार १११ सहित ट्रफी र मेडलबाट पुरस्कृत हुने वडाध्यक्ष रावलले जानकारी दिए। त्यसैगरी यहाँको शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा पुनः फुटबल प्रतियोगिता आयोजनाको तयारी छ। बेलौरी नगरपालिकामा फुटबल आयोजना र बेलडाँडीमा भलिबल आयोजनाको तयारी रहेको खेलकुद विकास समितिका सदस्य महताको भनाइ छ। पछिल्लो समय स्थानीय पालिकादेखि वडास्तरसम्मले खेलकुदको विकासका लागि रकम विनियोजन गरिरहेकाले सहज भएको छ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जिल्लाभरि खेल गतिविधि सञ्चालन भइरहेको बताए। “अहिले खेलकुदमय वातावरण बनिरहेको छ”, उनले भने, “अहिले पालिकादेखि गाउँ क्लब र संघसंस्थाले दिएको प्राथमिकता सकारात्मक पक्ष हो।” उनले खेलकुदका गतिविधिले नयाँ खेलाडी उत्पादनमा सहजीकरण भइरहेको बताए।