डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा बांग्लादेशकी वाजेद निर्वाचित, आचार्यले दिए बधाई

वाजेद विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यसम्बन्धी सल्लाहकार तथा बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरीसमेत हुन्।

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशकमा बांग्लादेशकी साइमा वाजेद निर्वाचित भएकी छन्।

नेपालका उम्मेदवार डा. शम्भु आचार्यलाई हराउँदै उनी निर्वाचित भएकी हुन्। अटिजम् विशेषज्ञ रहेकी वाजेद विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यसम्बन्धी सल्लाहकार तथा बांग्लादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरीसमेत हुन्। डा. वाजेद २२ वर्षयता अटिजममा विशेषज्ञता राख्छिन्। निर्वाचित भएसँगै उनले अब ११ देशको स्वास्थ क्षेत्रको नेतृत्व गर्नेछिन्। यसअघि भारतकी अनुपम क्षेत्रपाल सिंह‌ले उक्त पद सम्हालेकी थिइन्।

वाजेदसँगै नेपालका डा.शम्भु आचार्य उक्त पदका लागि मनोनयनमा थिए। विश्व स्वास्थ्य संगठनको कन्ट्री एन्ड स्ट्राटिजी प्रमुखको रूपमा काम गरिरहेका आचार्यको भोटको लागि नेपाल सरकारबाट निकै फितलो लबिङ भएको गुनासो अभियन्ताहरूको छ। डा. शम्भु आचार्यले आफ्नो आधिकारिक एक्समार्फत डा. साइमालाई बधाई ज्ञापन गरेका छन्।