बाराका शिक्षकको हत्याको कारण विवाहेत्तर सम्बन्ध, पाँच आरोपी सार्वजनिक

स्वर्णकारलाई हत्या गर्ने योजना विद्यालयकै पूर्वकर्मचारी राधाले बनाएको र त्यसमा उनका प्रेमी भारतीय नागरिक मनोजले भूमिका खेलेको प्रहरीको भनाइ छ।

काठमाडौँ– बारामा शिक्षकको गोली प्रहार गरी हत्या भएको घटनामा प्रहरीले पाँच आरोपीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।  

बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको आरोपमा पाँच जनालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो। 

“हामीले पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेका छौँ। घटनाबारे थप बुझ्ने काम अझै भइरहेको छ,” बाराका डीएसपी दधिराम न्यौपानेले भने। पक्राउ परेका पाँचमध्ये तीन जना नेपाली र दुई जना भारतीय नागरिक रहेका छन्।

स्वर्णकारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २२ वर्षीय राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर र कलैया ९ बस्ने २६ का रियाज अन्सारीलाई पक्राउ गरेको छ। गुप्ता मुख्य योजनाकार र अन्य दुई जना सहयोगी हुन्। 

यस्तै, भारत मोतीहारीका चन्दन कुमार र अभिनवकुमार राजपुतलाई पनि पक्राउ गरेको छ। दुवै जना गोली प्रहार गर्ने समूहको सदस्य रहेको र उनीहरूले सूचना आदान–प्रदानको काम गरेको प्रहरीले जनाएको छ। घटनास्थलबाट चार थान गोलीका खोका बरामद गरेको प्रहरीले गोली प्रहार गर्ने चार जनालाई भने पक्राउ गरिसकेको छैन। 

सोमबार दिउँसो शिक्षक स्वर्णकार खाजा लिन गएको बेला दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले गोली प्रहार गरेका थियो। गोली प्रहार गर्ने चारै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। भारतका सुजित कुमार सिंह, चञ्जल पाण्डे, मनिषकुमार सहनी र कामेश्वर सहनीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। 

यसअघि पनि शिक्षक स्वर्णकारको हत्याको प्रयास भएको खुलेको छ। पक्राउ परेकाहरूले बयानका क्रममा स्वर्णकारलाई यसअघि नै हत्या गर्ने प्रयास गरिएको बताको प्रहरीको भनाइ छ। तर, त्यतिबेला उनले भागेर ज्यान बचाएका थिए। प्रहरी प्रवक्ता न्यौपानेले अनुसन्धानका क्रममा विवाहेत्तर सम्बन्ध र व्यक्तिगत रिसइबी नै हत्याको मुख्य कारण रहेको खुलेको उकालोलाई बताए।

प्रहरीका अनुसार स्वर्णकारको हत्याका मुख्य योजनाकार उनकै स्कुलकी पूर्वकर्मचारी राधा हुन्। उनीसँग स्वर्णकारको विवाहेत्तर सम्बन्ध रहेको थियो। विगत ३ वर्षदेखि सम्बन्धमा रहेका स्वर्णकारलाई हत्या गर्ने योजना राधाले बनाएको र त्यसमा उनका हालका प्रेमी भारतीय नागरिक मनोजले भूमिका खेलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यद्यपि, प्रहरी सार्वजनिक गरेको विवरणमा भने मनोजको भूमिका हत्या प्रकरणमा देखाइएको छैन। राधा हत्या गरिएका स्वर्णकारकै विद्यालयमा यसअघि कर्मचारीका रूपमा काम गर्थिन्। स्वर्णकार पनि विवाहित रहेको र भारतका मनोज पनि विवाहित रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार राधाको भारतीय नागरिक मनोजसँग प्रेमसम्बन्ध रहेको र यता स्वर्णकारसँग पनि विद्यालयमा काम गर्दा सम्बन्ध रहेको खुलेको छ। यही विषयलाई लिएर विगतमा मनोज र स्वर्णकारबीच पनि विवाद र झै–झगडा भएको देखिएको प्रहरीको भनाइ छ।