पीडितकेन्द्रित भएर शान्तिप्रक्रिया टुंग्याउनुपर्छ: ओली

शान्तिप्रक्रिया टुंगो लगाउँदा सर्वोच्च अदालत र विश्व मानवअधिकार परिषद्को सुझावलाई पनि ध्यान दिनुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ।

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पीडितकेन्द्रित भएर शान्तिप्रक्रियालाई टुंगो लगाउनुपर्ने बताएका छन्।

बुधबार चाडपर्वको अवसर पारेर पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले पीडितलाई न्याय दिएर शान्तिप्रक्रियाका बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताएका हुन्।

शान्तिप्रक्रियाको टुंगो लगाउने काममा ढिलाइ भएको स्वीकार गर्दै उनले भने, “पीडितकेन्द्रित भएर यो समस्या समाधान गर्नुपर्छ। हामीले योभन्दा पहिले नै टुंग्याइ सक्नुपर्थ्यो। त्यसमा मिस्टेक भएको छ।”

अध्यक्ष ओलीले शान्तिप्रक्रियाका बाँकी काम दलहरूले सहमतिका साथ टुंग्याउनुपर्ने पनि बताए। शान्तिप्रक्रिया टुंगो लगाउँदा सर्वोच्च अदालत र विश्व मानवअधिकार परिषद्को सुझावलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।

एमालेले बुधबार पार्टी कार्यालय च्यासलमा दशैँतिहार तथा छट पर्वको शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।