‘सिद्धान्तहीन राजनीतिले कांग्रेसका कार्यकर्तामा निराशा पैदा भयो’

कांग्रेस नेता डा. शेखर कोइराला व्यावहारिक राजनीतिका नाममा पार्टीले आफ्नो सिद्धान्त छाड्न नहुने बताउँछन्।

फाइल तस्वीर

लेखनाथ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यावहारिक राजनीतिका नाममा आफ्नो सिद्धान्तलाई कांग्रेसले छाड्न नहुने बताएका छन्।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलनको बुधबार पोखराको लेखनाथमा उद्घाटन गर्दै नेता डा. कोइरालाले भने– “सिद्धान्तहीन राजनीति अगाडि बढ्दा कांग्रेसका कार्यकर्तामा निराशा पैदा भएको छ। आउँदो निर्वाचनमा कांग्रेसले चुनाव एक्लै लड्नुपर्दछ, कार्यकर्ताको माग पनि त्यही छ।”

नेता कोइरालाले कांग्रेस एक ढिक्का भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिले हराउन नसक्ने उल्लेख गरे। अहिले कांग्रेसलाई कांग्रेसले नै हराइरहेकाले सो कार्य बन्द हुनुपर्ने उनको भनाइ थियो। “कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहन्छ, जनताप्रति उत्तरदायी भई जनताको सेवामा अगाडि बढ्न आवश्यक छ,” उनले भने। 

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र दल लाग्नुपर्नेमा जोड दिँदै नेता कोइरालाले भने, “महँगी नियन्त्रणमा वर्तमान सरकारले चासो दिनु जरुरी छ। महँगी नियन्त्रणका बारेमा कांग्रेसले आवाज उठाउनुपर्दछ। वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न लाग्नुपर्दछ।”

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेसलाई बलियो बनाउन सकेको खण्डमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताए। उनले नेपाली जनताको विश्वास कांग्रेसमाथि भएकाले जनताको सेवामा कांग्रेस कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसले गरेका काम प्रचारमा ल्याउन नसक्दा पार्टी पछाडि परेको बताए। शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माणमा कांग्रेस सरकारको पालामा धेरै उपलब्धि भएको भनाइ उनको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकीका सभापति शुक्रराज शर्मा, कास्कीका सभापति किशोरदत्त बराल, कांग्रेस नेता यज्ञबहादुर थापा, कृष्ण केसीलगायतले आ–आफ्ना भनाइ राखेका थिए।