एकै दिन युक्रेनका सय भन्दा बढी बस्तीमा रुसी सेनाकाे आक्रमण

युक्रेनका आन्तरिक मन्त्रीले यस वर्षकै धेरै रुसी गोलाबारी भएको बताएका छन्।

रुसले २४ घण्टामा १०० भन्दा बढी बस्तीमा आक्रमण गरेको युक्रेनले जनाएको छ। युक्रेनी अधिकारीहरूको भनाइलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार युक्रेनका पूर्वी क्षेत्रमा रहेका बस्तीमा रुसले गोलाबारी गरिरहेको छ।

गोलाबारीमा परेर कैयाैँ बस्तीमा आगलागी भएको छ। स्थानीय अधिकारीहरूका अनुसार रुसको सिमानामा रहेको खार्किभ शहरमा रातभरको गोलाबारीमा एक व्यक्तिको मृत्यु भएको छ भने दक्षिणपूर्वी खेरसोनमा पनि एक जनाको मृत्यु भएको छ। युक्रेनका आन्तरिक मन्त्रीले यस वर्षकै धेरै रुसी गोलाबारी भएको बताएका छन्। दक्षिणी शहर निकोपोलमा पनि रुसी ड्रोन आक्रमणमा ५९ वर्षीया महिलाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।

युक्रेनी आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै रुसले देशको पूर्वी क्षेत्रका शहरहरूमा लाखौँ मात्रामा गोलाबारी गरेको बताए। "पछिल्लो २४ घण्टामा शत्रुले १० वटा क्षेत्रमा ११८ वटा बस्तीमा गोलाबारी गरेको छ," क्लिमेन्कोले बुधबार भने, "यो वर्षको शुरूदेखि नै सबैभन्दा धेरै शहर र गाउँहरू आक्रमणमा परेका छन्।"

रुसको आक्रमणले युक्रेनका केही बजार तथा गाउँहरू भग्नावशेषमा परिणत गरेको छ। अघिल्लो वर्षको फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेपछि छेडिएको दुई देशबीचको युद्ध रोकिएको छैन। अहिलेसम्म झन्डै १० हजार युक्रेनी नागरिकको ज्यान गइसकेको छ।