कांग्रेस र एमाले दुवैले केन्द्र ताकिरहेका नेताहरूलाई प्रदेशमा पठाएकाले कर्णालीमा मुख्यमन्त्रीको दौड रोचक बन्ने देखिन्छ।
जुम्ला– असोज २३ गते, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गर्ने दिन। दर्ताको समय सकिन केही घण्टा अघिसम्म पनि टिकटका आकांक्षीहरू पार्टीका प्रमुख नेताको दैलो चहारिरहेका थिए। सबैजसो पार्टीमा यस्तो परिदृश्य देखिए पनि सत्ता गठबन्धनका दलमा थप सघन थियो। बालुवाटारस्थित प्रधानमन्त्री निवास र गठबन्धनका अन्य पार्टीका प्रमुख नेताको निवासमा टिकटका आकांंक्षीहरूको भीड थियो।
कांग्रेस नेता राजीवविक्रम शाह भने त्यो दौडबाट केही दिन पहिल्यै टाढिएका थिए। त्यसबीचको एक साँझ काठमाडौंको एउटा क्याफेमा आफूनिकटसँग उनले भनेका थिए, “जाजरकोटबाट जितेरै आउने धोको थियो, गठबन्धनको भागबन्डाले मलाई फेबर गरेन।”
प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको जाजरकोट सत्ता गठबन्धनभित्रको भागबन्डामा नेकपा (माओवादी केन्द्र) को भागमा परेपछि टिकटको लबिइङमा लागेका शाह निराश बनेका थिए। माओवादीले शक्ति बस्नेतलाई जाजरकोटबाट उम्मेदवार बनाउने निश्चित भइसकेको थियो। २०७४ मा बस्नेतसँगै पराजित शाह यसपालि टिकट पाए आफूले सजिलै जित्ने विश्वासमा थिए र त्यही दाबी पार्टी नेतृत्वसमक्ष गरेका थिए।
कांग्रेसमा संस्थापनइतरका शाहलाई प्रतिनिधि सभाको टिकट दिन नसकेकोमा महामन्त्री गगन थापाले नै उनीसँग माफी मागेका थिए। शाहनिकट एक नेताका अनुसार थापाले ‘प्रदेशका लागि जसरी पनि टिकट दिलाउने’ वाचा पनि गरेका थिए।
“प्रतिनिधि सभाकै उम्मेदवार बन्ने तीव्र इच्छा भए पनि टिकट नपाएपछि उहाँ निराश हुनुभएको थियो। त्यही बेला गगन थापाले प्रदेशको टिकट दिलाउने र मुख्यमन्त्री बनाउन पनि पहल गर्ने भन्दै प्रदेशमा जान आग्रह गर्नुभयो”, ती नेता भन्छन्।
मुख्यमन्त्रीको अवसर देखेर शाह तत्कालै जिल्ला फर्किए। प्रदेश सभामा मनोनयन दर्ता गरेदेखि उनी निरन्तर जाजरकोटमै छन्। त्यहाँ उनी आफ्नो क्षेत्रको मात्र नभई कर्णाली प्रदेशको विकासमा समय खर्चिने बाचा गरिरहेका छन्। नेकपा एमालेका खिमबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कृष्णबहादुर शाहीसँग प्रतिस्पर्धा गरिरहेका शाहले मुख्यमन्त्रीकै तयारी गरिरहेको उनीनिकट नेताहरू बताउँछन्। “आफ्नो निर्वाचन क्षेत्रमा निःस्वार्थ सेवा गर्नुभएको छ, कर्णालीकै विकास गर्ने भिजन छ। त्यस कारण उहाँ मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हो”, कांग्रेसका एक जिल्ला नेताले भने।
शाह भने अहिले नै मुख्यमन्त्रीको चर्चा गर्नु असान्दर्भिक हुने बताउँछन्। “मेरो प्राथमिकता सामाजिक सेवा हो। निर्वाचित भएँ भने पनि निरन्तर सामाजिक सेवामै लाग्नेछु। मुख्यमन्त्री बन्ने या नबन्ने भन्नेबारे अहिल्यै केही भन्न चाहन्नँ। को मुख्यमन्त्री बन्ने कुरा पार्टी नेतृत्वको निर्णयमा पनि भर पर्छ”, शाहले उकालोसँग भने, “यो भाग्यको कुरा पनि हो। त्यसैले म यसमा धेरै बोल्न चाहन्न।”
कर्णालीमा शाहजस्तै कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी अरू पनि छन्। जुम्ला ‘क’बाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका ललितजंग शाही र हुम्ला ‘ख’बाट उम्मेदवार बनेका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही पनि त्यो दौडमा छन्। तर, उनीहरुले प्रदेश सभा निर्वाचनमै कडा चुनौती सामना गरिरहेका छन्। ललितजंगविरुद्धविरुद्ध कांग्रेसकै देवेन्द्रबहादुर शाही बागी उठेका छन्। स्थानीय कांंग्रेस कार्यकर्ताहरू पनि ललितजंगप्रति असन्तुष्ट देखिन्छन्। केही कांग्रेस कार्यकर्ताले त ‘माथि ज्ञानेन्द्र, तल देवेन्द्र’ भन्ने नारा नै लगाइरहेका छन्।
“ललितजगंलाई जुम्लाको विकासमा मतलब छैन, नेतृत्वको अघिपछि कुद्नै ठिक्क छ। उहाँलाई किन भोट दिने?”, चन्दननाथ नगरपालिका–१ का कांग्रेस कार्यकर्ता सुरज बोहोराले भने। कांग्रेस उपसभापति पूर्णबहादुर खड्कानिकट ललितजंग चुनाव जितेमा भने मुख्यमन्त्रीका बलिया दाबेदार बन्ने देखिन्छ। कर्णाली कांग्रेसमा उपसभापति खड्का नै निर्णायक मानिन्छन्। ललितजंगले मतदातासमक्ष ‘कर्णाली प्रदेशको नेतृत्व गर्न सक्ने भएकाले मत दिन’ आग्रह गरिरहेका छन्। मंगलबार खलंगामा आयोजित चुनावी सभामा त उद्घोषकले ललितजंगलाई भावी मुख्यमन्त्री नै घोषणा गरिदिए। ललितजंग भन्छन्, “पार्टी या सरकारको नेतृत्वमा पुग्ने कसलाई रहर हुन्न र? यतिका वर्ष पार्टीमा सक्रिय भएपछि केही न केही जिम्मेवारी त पाउनु पर्छ।”
ललितजंग कांग्रेस कर्णाली प्रदेश सभापति हुन्। महाधिवेशनमा राजीवविक्रम शाहले कर्णालीको नेतृत्व गर्ने इच्छा गर्दा खड्काले उनलाई रोकेर ललितजंगलाई अघि बढाएका थिए।
अहिले पनि मुख्यमन्त्री रहेका जीवनबहादुर शाही आधा समय मात्र मुख्यमन्त्री बन्न पाएको र आफूले कर्णालीको विकासका लागि अघि सारेका योजनालाई पूर्णता दिन पुनः मुख्यमन्त्री बन्नुपर्ने बताइरहेका छन्। मतदातासमक्ष आफूलाई भावी मुख्यमन्त्रीकै रूपमा प्रस्तुत गरिरहेका उनी कांग्रेसमा सभापति शेरबहादुर देउवानिकट हुन्। तर, मुख्यमन्त्री बन्नलाई प्रदेश सभा सदस्यमा जित निकाल्न उनलाई सहज छैन। उनको प्रतिस्पर्धा २०७४ सालमा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छक्कबहादुर लामासँग हुँदै छ। त्यसबेला माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उठेका छक्कबहादुर निर्वाचित भएपछि माओवादीमै प्रवेश गरेका थिए। यसपटक उनी एमालेबाट उम्मेदवार छन्।
प्रतिनिधि सभा रोजाई भएपनि टिकट नपाएपछि प्रदेशको जितलाई प्रतिष्ठाको विषय बनाएका छक्कबहादुरको हुम्लामा ‘आफ्नै भोटब्यांक’ रहेको चर्चा हुने गर्छ। कांग्रेस नेताहरू भने बहालवाला मुख्यमन्त्री, भावी मुख्यमन्त्रीका दाबेदार र गठबन्धनको साथ भएकाले जीवनबहादुर कमजोर नरहेको बताउँछन्। हुम्ला कांग्रेसले उनलाई प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ एकल सिफारिस गरे पनि उनले प्रदेश रोजेका थिए। उनले उकालोसँगको कुराकानीमा भने मुख्यमन्त्रीको दाबेदारी भन्दा प्रदेश सभामा जित निकाल्नु प्रमुख भएको बताए। “मुख्यमन्त्रीको कुरा गर्ने समय बाँकी छ, पहिले चुनावमा जित हासिल गर्नु ठूलो कुरा हो”, उनले भने।
कांग्रेसका एक नेता भने उनी मुख्यमन्त्री बनिसकेकाले ललितजंग र राजीवविक्रम नै मुख्यमन्त्रीका प्रमुख दाबेदार रहेको बताउँछन्।
गठबन्धनमा अरू पनि आकांक्षी
४० सदस्यीय कर्णाली प्रदेश सभामा प्रत्यक्षबाट २४ र समानुपातिकतर्फ १६ जना सदस्य निर्वाचित हुन्छन्। २०७४ मा एमालेबाट २०, नेकपा (माओवादी केन्द्र) बाट १३, नेपाली कांग्रेसबाट ६ र राप्रपाबाट एक जना सदस्य निर्वाचित भएका थिए। एमालेका तीन सदस्य नेकपा (एकीकृत समाजवादी) मा गएका थिए।
एमाले र माओवादी गठबन्धनको स्पष्ट बहुमत भएकाले कर्णालीमा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने। तर, त्यसपछि दुवै पार्टी मिलेर बनेको नेकपा विघटन भई साबिकका एमाले र माओवादी नै ब्युँतिएपछि कर्णालीमा केन्द्र झैँ सत्ता गठबन्धन बन्यो, एमाले प्रतिपक्षमा पुग्यो। त्यही बेला सत्ता गठबन्धनमा शाहीले कांग्रेसलाई केही समयपछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो। सहमतिअनुसार नै कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बनेका हुन्।
माओवादीले फेरि कर्णालीमा सरकारको नेतृत्व गर्ने दाबी गरिरहेको छ। माओवादीबाट मुख्यमन्त्री बन्ने दौडमा सुर्खेत क्षेत्र नम्बर २ ‘ख’ का उम्मेदवार विन्दमान विष्ट अगाडि छन्। विष्ट यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री थिए। उनले मुख्यमन्त्रीको दौडमा सामेल हुन एमालेका ताराकेशर गौतम, राप्रपाका कर्णबहादुर रेग्मी, नेकपा एकीकृत समाजवादीका मोहनसिंह बडुवाल र नेपाल मजदुर किसान पार्टीका गगन कामीलाई पन्छाउनुपर्नेछ। “एकपटक मन्त्री भइसकेँ, सरकार सञ्चालनको अनुभव पनि बटुलेको छु। मुख्यमन्त्री बन्ने जिम्मेवारी आए पछाडि हट्ने कुरै आउँदैन”, विष्टले भने।
एकीकृत समाजवादीबाट जुम्ला ‘ख’बाट प्रदेश सभा सदस्यको उम्मेदवार रहेका पदमबहादुर रोकाय पनि मुख्यमन्त्रीका आकांक्षी हुन्। एमाले विभाजन हुँदा जुम्लाको कुल ६१ सदस्यीय जिल्ला कमिटीमध्ये दुई जना मनोनीत सदस्यबाहेक सबै एकीकृत समाजवादीमा गएका थिए। प्रदेश सरकारको मन्त्री भएर जुम्ला मात्र नभई समग्र कर्णालीको विकासमा भूमिका खेलेकाले आफू मुख्यमन्त्री हुनुपर्ने दाबी उनले गरिसकेका छन्।
एमालेमा पनि दौडधुप
कर्णालीको मुख्यमन्त्रीका लागि एमालेमा पनि प्रतिस्पर्धा देखिन्छ। सुर्खेत–२ ‘क’बाट उम्मेदवार रहेका यामलाल कँडेल मुख्यमन्त्रीका स्वाभाविक दाबेदार हुन्। एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज रहेका कँडेलले प्रदेश सरकारको नेतृत्व गर्ने योजनाकै कारण प्रतिनिधि सभा सदस्यको टिकट त्यागेको नेताहरू बताउँछन्।
कँडेल अघिल्लो कार्यकालमै मुख्यमन्त्री बन्न चाहन्थे। त्यही भएर प्रतिनिधि सभाको टिकट पाउँदा त्यस बेला पनि उनले प्रदेश रोजेका थिए। तर, माओवादीसँगको गठबन्धनका कारण उनको योजना सफल भएन। माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने। एमाले–माओवादी एकता भएको केही समयपछि उनी मुख्यमन्त्री बन्न सक्ने सम्भावना देखेर आफ्नै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकार र मुख्यमन्त्री शाहीविरुद्ध उभिए। विवाद यति चुलियो कि कँडेलको समूहले शाहीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव नै दर्ता गरायो। तर, पारित भएन। एमालेका तीन जना सदस्यले ‘फ्लोर क्रस’ गरेर कँडेलको प्रयास असफल तुल्याइदिए।
यसपटक फेरि मुख्यमन्त्री बन्न प्रदेशमै उठेका कँडेललाई नेपाली कांग्रेसका कालीप्रसाद शाक्यको चुनौती हटाउनुपर्नेछ। २०४९ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा कँडेलले शाक्यलाई हराएका थिए। अहिले शाक्यलाई सत्ता गठबन्धनको साथ छ। “मसँग कर्णालीको नेतृत्व गर्ने क्षमता छ। यसअघि पनि मलाई पार्टीले मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर, वाम गठबन्धनका कारण म पछि परेँ। यसपटक पनि जिम्मेवारी पाए त्यो निर्वाह गर्न तयार छु”, कँडेलले भने, “परिस्थिति कसरी अघि बढ्छ, अहिल्यै भन्न सकिन्न।”
एमालेबाट कँडेलसँगै दैलेख क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार विनोद शाह पनि मुख्यमन्त्रीका दाबेदार छन्। शाहले आफूले जिते कर्णालीको मुख्यमन्त्री बन्ने भनेर मत मागिरहेका छन्। शाह एमाले कर्णाली प्रदेश अध्यक्षसमेत हुन्। उनको प्रतिस्पर्धा माओवादीका योगेन्द्रबहादुर शाहीसँग हुँदै छ। “मुख्यमन्त्री बन्ने मौका पाए समग्र कर्णालीको विकास गरेर देखाउँछु”, शाहले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
