नक्कली श्रम स्वीकृतिको कागजात बनाउने दुई जना पक्राउ

पछिल्लो समय नक्कली कागजात देखाएर भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि अध्यागमन कार्यालयले विमानस्थलमा जाँचमा कडाइ गरेको छ।

काठमाडाैँ– नक्कली श्रम स्वीकृतिको कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

गोरखा घर भई काठामाडौँ बस्दै आएका २३ वर्षीय अजित फेवाली र सोही ठाउँका २१ वर्षका विपिन ढकाल पक्राउ परेका हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले दुवै जनालाई सोल्टीमोडबाट मंगलबार पक्राउ गरेको थियो। दुवै जनाले त्यहाँ वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने ट्राभल्स सञ्चालन गर्दै आएका प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार भिजिट भिसामा विदेश जान लागेकाहरूका कागजात नक्कली देखिएपछि प्रहरीले अनुसन्धान थाल्दा उक्त कागजात अजित र विपिनले बनाउने  गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। थप कारबाहीको लागि दुवै जनालाई प्रहरी वृत्त कालीमाटी पठाइएको कार्यालयले जनाएको छ।

पछिल्लो समय नक्कली कागजात देखाएर भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचमा कडाइ गरेको छ।