कोशीमा सहमतीय सरकारको विकल्प छैन: मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ।

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफूले पहल गरिरहेको बताएका छन्।

नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।

कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको कार्कीले बताए। विशिष्ट परिस्थितमा वर्तमान सरकार निर्माण भएकाले कोशीमा सहमतिको विकल्प नभएको उनको भनाइ छ।

कोशी प्रदेशको विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने उनले उल्लेख गरे। कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उनको भनाइ थियो।

मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्‍यो त्यो गुन आफूले नबिर्सने भन्दै यसअघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउने गरेको अभ्यासलाई पूरा गर्न लागी परिहेरको बताए।

कोशी प्रदेश मन्त्रिपरिषद् चाँडै विस्तार हुने बताएका उनले सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने धारणा राखे।