रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले सर्वोच्चको फैसलालाई सरकारले निर्णय लिँदा संविधान, कानून र नियमलाई ध्यानमा राख्नुपर्ने सुझावको रूपमा लिएको बताए।

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्ने बताएका हुन्।

उनले सरकारले निर्णय लिँदा संविधान, नियम र कानूनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रूपमा फैसलालाई लिएको पनि बताए। उनले सरकारले निर्णय गर्दा खेरी नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडि बढ्ने सुनाए।

“यो एउटा सरकारलाई सुझाव पनि हो,” उनले भने, “संविधान मिचिएको होइन, यस सम्बन्धमा सरकारले निर्णय गर्दा खेरी अझै राम्रो सँग विचार गर्नुपर्थ्यो तर अबचाहिँ अदालतको निर्णयलाई सम्मान गर्छौं।”

मन्त्री ज्वालाले अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे।