सशस्त्र प्रहरीले थाल्यो नेपाल–भारत सीमा स्तम्भको मर्मत

सशस्त्र प्रहरीले पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजारभन्दा बढी सीमा स्तम्भहरूको मर्मत तथा रङरोगन गरिने जनाएको छ।

काठमाडौँ– सशस्त्र प्रहरी बल, नेपालले नेपाल–भारत सीमा स्तम्भको मर्मत तथा रङरोगनको शुरूआत गरेको छ। मर्मतको थालनी बिहीबार मधेश प्रदेशको धनुषास्थित नेपाल–भारत दशगजामा रहेको सीमा स्तम्भबाट गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह सीमा स्तम्भ मर्मतको शुरूआत गर्दै यसले सीमाको सुरक्षा मात्र नभई सीमा अपराध नियन्त्रण र दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन योगदान पुर्‍याउने बताए।

नेपाल–भारत बाउन्डरी वर्किङ ग्रुप (बीडब्लूजी)को पाँचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भमध्ये जोर नम्बरको सीमा स्तम्भ भारतीय सशस्त्र सीमा बलले सशस्त्र प्रहरीको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो।

मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णयअनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भ सशस्त्र प्रहरीलाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भएको थियो। सोही निर्णयबमोजिम मर्मतको कार्य शुरू गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता, सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजारभन्दा बढी सीमा स्तम्भहरूको मर्मत गरिने छ। बिहीबारबाटै मधेश प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सामा समेत सीमा स्तम्भको मर्मत कार्य शुरू गरिएको सशस्त्र प्रहरीले जनाएको छ।