सडकले जोडियो दुर्गम गाउँ तिप्लिङ, १ दिनमा धादिङबेँसी पुगिने

धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पासबाट रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ।

धादिङ– धादिङको विकट बस्ती तिप्लिङ सडक सञ्जालले जोडिएको छ। उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटो पुगेको हो।

चार दशकअघि धादिङबेँसीबाट खन्न शुरू गरिएको उक्त सडक तिप्लिङसँग जोडिएपछि स्थानीय खुशी भएका छन्। सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए। रुविभ्यालीको सबैभन्दा अग्लो स्थान तीन हजार ८५० मिटर उचाइमा पर्ने पाङसाङ प्रवेशद्वारसम्म अहिले सडक सुविधा पुगेको छ। विकट बस्ती लब्दुङबाट पुरुसम्म मोटर पुगिसकेको छ। लापासम्म पुग्ने सडक भने खन्ने प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए। 

सदरमुकाम धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पासबाट रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ। तीन हजार ८५० मिटर उचाइमा खनिएको यो सडक जिल्लाकै सबैभन्दा उच्च स्थानमा खनिएको सडक हो।

धादिङ र रसुवाको सिमाना सोम्दाङबाट तिप्लिङसम्म २८ किलोमिटर सडक विभाग, गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाको रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो। धादिङबेँसीबाट ७० किलोमिटर सडक भने नेपाल सरकारको लगानीमा खनिएको हो। “सडक पुगेपछि आवतजावतमा त सहज भएको छ नै विकास निर्माणका कामका लागि निर्माण सामग्री ढुवानीमा समेत सजिलो भएको छ,” रुविभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले भने। 

मोटर चल्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीय तीनदेखि चार दिनको पैदल हिँडेर धादिङसम्म आउनुपर्ने बाध्यता थियो। अब भने सो बाध्यता हट्ने र एकै दिनमा सदरमुकाम पुग्न सकिने उनको भनाइ छ। पशुपालन र जडीबुटी उत्पादनका लागि राम्रो मानिएको तिप्लिङमा सडक पुगेसँगै अब विकासको लहर आएको आभास स्थानीयले गरेका छन्।

सडक सञ्जाल जोडिए पनि सबैखालका गाडी भने जान सक्दैन। धेरै घुम्ती र उकालो–ओरालो अत्यधिक भएकाले जोखिम भने थुप्रै छ। विभिन्न खोलाहरूमा पुलसमेत बन्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ।