निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन, बिहीबार मध्यरातबाट सीमा नाका बन्द हुँदै

नेपाल प्रहरीका प्रवक्ता प्रहरी महानिरीक्षक टेकप्रसाद राईले मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन तहमा वर्गीकरण गरिएको बताए।

तस्वीर : रासस

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको बताए। प्रवक्ता पोखरेलले भने, “नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरी करिब ३ लाखको हाराहारीमा सुरक्षाकर्मी खटिएका छन्।"

गृह मन्त्रालयका अनुसार १ लाख १५ हजार म्यादी प्रहरी, ७१ हजार ६९३ नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र ७५ हजार नेपाली सेना परिचालन गरिएको हो। त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिने छन्।

प्रवक्ता पोखरेलले मतदान केन्द्रको सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको बताए। उनका अनुसार मतदानदेखि मतगणनासम्मको सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी रहने छ। सशस्त्र प्रहरीले बाहिरी घेराको सुरक्षा हेर्ने छ र अन्तिम लहरमा थप सुरक्षाका लागि नेपाली सेना तैनाथ हुने छ।

मतपेटिका ओसार्न सुरक्षा टोलीसहितका गाडी प्रयोग गर्ने, गाडी नभएको ठाउँमा मतपेटिकालाई सुरक्षा घेरामा राखेर पैदल ओसारेर मतगणना स्थलमा पुर्‍याउने र गाडी तथा पैदल दुवै सम्भव नभएका ठाउँबाट 'हेली लिफ्ट'मार्फत मतपेटिकालाई मतगणना स्थलमा पुर्‍याउने व्यवस्था मिलाइएको उनले बताए।

उनका अनुसार निर्वाचनलाई मध्यनजर गर्दै बिहीबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमासमेत बन्द गरिँदै छ। अब मतदान सकिएपछि सीमा नाका खुल्ने छ। "अन्तर्राष्ट्रिय सीमा आज राति १२ बजेदेखि मतदान हुने दिन मंसिर ४ को राति १२ बजेसम्मको लागि सिल गरिँदै छ,” उनले भने।

उनले देश चुनावमय भएको उल्लेख गर्दै अप्रिय गतिविधि रोक्न दल र उम्मेदवारले पनि सहयोग गर्नुपर्ने बताए। “देश चुनावमय भएको छ, प्रचारप्रसारको अवधि आजदेखि सकिँदै छ, मतदाताहरू मत खसाल्न आतुर हुनुहुन्छ,” पोखरेलले भने, “दलहरू र उम्मेदवारहरू पनि उत्साहित हुनुहुन्छ, त्यस कारणले अप्रिय गतिविधि रोक्न उहाँहरूको पनि सहयोग रहने हामीले अपेक्षा गरेको छौँ।”

नेपाल प्रहरीका प्रवक्ता प्रहरी महानिरीक्षक टेकप्रसाद राईले मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन तहमा वर्गीकरण गरिएको बताए। अति संवेदनशील ३ हजार ६५, संवेदनशील ४ हजार ४७५ र बाँकीलाई सामान्य श्रेणीमा राखिएको उनले बताए।

विगतका चुनावमा भएका गतिविधि, उम्मेदवारको पृष्ठभूमि, पार्टीगत बाहुल्यता, भौगोलिक विकटता, सञ्चार तथा विद्युतीय सुविधा, सुरक्षा परिचालनमा सहजता तथा असहजतालगायतका आधारमा मतदान केन्द्र वर्गीकरण गरिएको उनले बताए।