कृत्रिम फूल प्रयोगकर्ता घटेर प्राकृतिक फूलमा आकर्षण बढ्दा धनुषामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गंगा यादवको भनाइ छ।
धनुषा– लहरै रोपिएका सयपत्री फूलका बिरुवा। तीमध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका। यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका उनले व्यावसायिक सयपत्री फूलखेती शुरू गरेको लामो समय भएको छैन। उनको फूलबारीमा पुग्दा जोसुकैको मन आनन्दित हुन्छ। तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन्।
उनले चार वर्षअघि कोरोनाका कारण लकडाउन शुरू हुँदा कामविहीन भएपछि क्षीरेश्वरनाथ नगरपालिकामा ‘श्री सुबधिमाई फूल भण्डार तथा उत्पादन शाखा’ सञ्चालन गरेर व्यावसायिक फूलखेती शुरूआत गरे। क्षीरेश्वरनाथ –४ हरैयामा १० कट्टा जमिन भाडामा लिएर उनले व्यावसायिक फूलखेती शुरू गरेका हुन्। शुरूमा फूलखेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको लकडाउनमा खासै आम्दानी गर्न नसके पनि घाटा पनि नभएको उनले बताए।
उनले गत वर्ष तिहारका समयमा फूल मात्रै १० लाख रुपैयाँको बिक्री गरेको र यसबाट खर्च, मिहिनेत, ज्याला मजदुरी सबै कटाएर करिब ६ लाख रुपैयाँजति बचत भएको जानकारी दिए। यसपटक एकै याममा १५ देखि २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ। गत वर्ष कममा पाँच जातको सयपत्री फूलखेती गरेकोमा यसपालि मेग्रा, चिनाचेरी, कर्मा त्रिपल फाइभ ओरेन्ज, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपिएका छन्।
युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने रामप्रवोधकी श्रीमती फुलो देवीको भनाइ छ। फूल उत्पादनका लागि यहाँको माटो उपयुक्त रहेको उनको भनाइ छ। यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना छ ।
अहिले आफू श्रीमती र दुई बुहारीसहित यही फूलखेतीमा लागिरहेको जनाउँदै फुलो देवीले भनिन्, “जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके आयआर्जनको बलियो आधार हुने अवस्था छ।”
रामप्रवोधले यसपालि फूलखेतीको क्षेत्र विस्तार गरेर एक बिघा पुर्याएको हुँदा उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने धारणा व्यक्त गरे। फूलमा क्षीरेश्वरनाथ नगरपालिका र आपपासका गाउँ नगरलाई आत्मनिर्भर गराउने उद्देश्यले फूलखेतीको क्षेत्र विस्तार योजना रहेको रामप्रवोधले बताए। “फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँ रुपैयाँको फूल बिक्री भइरहेको छ,” उनले भने। फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि जान नपरेको उनको भनाइ छ।
रामप्रवोधले स्थानीय एभरेस्ट पेपर मिल्सको जागिर छाडेर फूलखेतीमा लागेका हुन्। मासिक २५ हजार रुपैयाँको जागिर छाडेर पुष्प व्यवसायमा लागेका उनी फूलखेतीबाटै मासिक एक लाख बढी कमाउने बताउँछन्। पण्डित परिवारलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याइ हुन्छ। फुलो देवी भन्छिन्, “फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्यो समय बितेको पत्तै हुँदैन ।”
फूलले बजार पाउँदा हर्षित
आफ्नो खेतमा उत्पादन भएको फूलले बजार पाउँदा उनीहरू निकै खुशी छन्। फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउँदा उनीहरूलाई हौसला बढाएको छ । “यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा लाग्न अझ उत्साहित बनाएको छ। सार्वजनिक कार्यक्रममा खादाभन्दा मालाको माग बढ्दो छ,” रामप्रवोधलले भने, “उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुर्याउनै सकेको छैन।”
सपरिवारलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यावसायिक रूपमा सयपत्री फूलखेती गरेका उनीलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो। सयपत्री फूलको माग अत्यधिक भएकाले फूलले यहाँको माग पुर्याउन सकिएको छैन। कृत्रिम फूल प्रयोगकर्ता घटेर प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गंगा यादवको भनाइ छ।
प्रतिमाला २५ देखि ३० रुपैयाँमा बिक्री हुने गरेकामा तिहारको अवधिभर २५ हजार माला बिक्री हुने रामप्रवोध दम्पतीको विश्वास छ। जसबाट रु सात लाखभन्दा माथि आम्दानी हुने बताए। रामप्रवोध भन्छन्, “फूलसँग रमाउने मेरो रुचि हो। सानैदेखि फूलप्रति मेरो मोह छ । मेरो घरवरपर बिरुवाले भरिभराउ हुन्थ्यो, तर यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ।”
फूलको माग पुर्याउन धौधौ
पुष्पखेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि रामप्रवोध पण्डित एक उदाहरण बनेका छन्। “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन, १० हजार माला मात्र बेचे मुनाफा दुई लाख रुपैयाँ हुन्छ। एक बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन,” उनले भने।
बजारमा मालाको अभाव देखिनु कृषकले व्यावसायिक रूपमा पुष्पखेती नगर्नुको उपज भएको रामप्रवोधलको भनाइ छ। फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ। “कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेतला लगाउने गरेको छु, एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन,” उनले भने।
रामप्रवोधले विवाह, पूजा, विभिन्न संघसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताए। कम लगानीमा छिटो र उत्पादन राम्रो हुनका साथै आम्दानी मनग्य भएपछि रामप्रवोध आकर्षित भएका हुन्। “विभिन्न कार्यक्रम र उत्सवमा फूलको माला प्रयोग बढ्न थालेपछि व्यावसायिक रूपमा गर्दा आम्दानी हुन्छ भन्ने लागेपछि यसतर्फ लागेका हौँ,” रामप्रवोधले भने, “फूल आयातको सट्टामा निर्यात हुन्छ, जिल्लामै फूलको खपत पनि हुने भएपछि यसमा लागेका हौँ, तिहारमा यो फूल अझ बढी खपत हुन्छ, यसले हामीलाई उत्साह थपेको छ।”
आफ्नै चार–पाँच कट्टा जमिनमा करिब १५ सय बिरुवा रोपेर शुरूआत गरेको फूलखेती अहिले एक बिघामा विस्तार गरेको रामप्रवोधको गुनासो राज्यसँग छ। उनले आफूजस्ता किसानलाई राज्यले कुनै किसिमको सहयोग नगरेको गुनासो गरे। प्राविधिक सहयोगका साथै केही अनुदानको बन्दोबस्त राज्यस्तरबाट भए अरू किसान पनि व्यावसायिक फूलखेतीतर्फ आकर्षित हुने धारणा उनी राख्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
