काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने छुट छैन: रक्षामन्त्री

आगामी २०८३ चैत्र मसान्तभित्र फास्ट ट्र्याक सम्पन्न गरिसक्न मन्त्रिपरिषद्ले दिएको समय सीमाभित्र नेपाली सेनाले आयोजना सम्पन्न गर्नुपर्ने रक्षामन्त्री खड्काको भनाइ छ।

काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण आयोजनाको थप गरिएको समयभित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन्।

शुक्रबार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले फास्ट ट्र्याकलाई थपिएको समयभन्दा पछि टार्ने छुट कसैलाई नरहेको स्पष्ट पारेका हुन्।

आगामी २०८३ साल चैत्र मसान्तभित्र फास्ट ट्र्याक सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। नेपाली सेनाले मन्त्रिपरिषद्ले दिएको समयसीमाभित्र आयोजनाको काम पूरा गर्नुपर्ने उनको भनाइ छ।

“महत्त्वको योजना भएको हुनाले हामीले २०८३ को चैत्र मसान्तसम्मको मिति तोकेका छौँ। त्योभित्र टुंग्याउने गरी २४ घण्टामा २० घण्टा काम गर्नुपर्ने हो कि, २४ नै घण्टा गर्नुपर्ने हो कि त्यसलाई त्यही रूपमा लिएर फास्ट ट्र्याकलाई कहीँ पनि कम्परमाईज गर्नुभएन।” उनले देश र सेनाका लागि प्रतिष्ठित यो आयोजनाको निर्माण सम्पन्न गर्न अब सेनाले ढिलाइ नगर्ने विश्वास व्यक्त गरे।

उपप्रधानमन्त्री खड्काले आयोजनाको कुनै पनि समस्या तत्काल समाधान गरेर अघि बढ्न नेपाल सरकार तयार रहेको पटक–पटक दोहोर्‍याए। उनले आयोजनाको ठेकेदारहरूलाई पनि ढिलाइ नगर्नका लागि अनुगमनको काममा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याए।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले बजेट अभावका कारण सेनाले पाएको सडक निर्माण लगायतका जिम्मेवारी समयमै सम्पन्न गर्ने ढिलाइ भएको स्पष्टीकरण दिएका थिए।