मन्त्रिपरिषद्‍बाट राष्ट्रपतिको युरोप भ्रमण स्वीकृत, दुई जनाको नागरिकता रद्द

सरकारले झुटो विवरण पेस गरिएको भन्दै काभ्रेपलान्चोकबाट निमा तामाङ र कालीकोटबाट देवराज धमालाको नाममा वंशजका आधारमा जारी नागरिकता रद्द गर्दै उनीहरूलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपति पौडेलको युरोप भ्रमणबारे जानकारी दिएका हुन्।

मन्त्री शर्माका अनुसार फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात् जर्मनी र इटालीको भ्रमण गर्न राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गर्ने र मंसिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको हो।

त्यस्तै, सरकारले मंसिर २५ देखि २९ सम्म अमेरिकाको एटलान्टामा आयोजना हुने १० औँ सेसन अफ  कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्सन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ। 

चीनको सांघाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने सरकारले निर्णय गरेको छ।

सरकारले कृषि पशुपक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाका लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यावसायीकरण लगायतका विषयमा सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गरेको। 

सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ बमोजिम समिति गठन गरेको छ। 

सरकारले झुटो विवरण पेस गरिएको भन्दै काभ्रेपलान्चोकबाट निमा तामाङ र कालीकोटबाट देवराज धमालाको नाममा लिइएको नागरिकता रद्द गरेको छ। वंशजका आधारमा जारी भएको दुवै जनाको नागरिकता रद्द गर्दै सरकारले नेपाली नागरिकबाट उनीहरूलाई हटाउने निर्णय गरेको हो।

प्रवक्ता शर्माका अनुसार नुवाकोट जिल्ला किस्पाङ गाउँपालिकामा रहेको ४—०—०—० रोपनी जग्गा ५ शैय्याको आधारभूत अस्पताल भवन गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिएको छ। उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिकामा रहेको २—१०—०—० बिघा सरकारी जग्गा प्रशासकीय भवन निर्माणार्थ उदयपुरगढी गाउँपालिकालाई उपयोग गर्न दिने निर्णय गरिएको छ। 

त्यस्तै, यूएईमा आयोजना हुने १८औँ एजुकेसन अफ द दुबई एयरशो २०२३ मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ। 

उनका अनुसार सरकारले सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न संखुवासभाको सभापोखरी गाउँपालिकामा वडा नं ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ४.२९०४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका १२४ वटा रूखहरू हटाउन स्वीकृति दिएको छ। 

मन्त्री शर्मा बडीकेदार गाउँपालिका डोटीको प्रशासकीय भवन तथा १० शय्याको अस्पताल निर्माण गर्नका लागि राष्ट्रिय वनको १३.२ रोपनी जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने, मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत जिल्लास्थित खम्बागाडे—पलौटे—विद्यापुर—गुट मायाताल सडकखण्डको स्तरोन्नतिको लागि राष्ट्रिय वन क्षेत्रको १४.५९ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातिका १,२९२ रुखहरू हटाउन स्वीकृति दिएको बताइन्।

सरकारले कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने द बेल्ट एन्ड रोड कन्फ्रेन्स अन साइन्स एन्ड टेक्नोलोजी एक्सचेन्ज कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ।

प्रवक्ता शर्माका अनुसार सरकारले नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा विश्वबाबु पुडासैनीलाई बढुवा गरी नेपाल ट्रस्टको कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा राधिका अर्याललाई बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।