संसद्लाई फलदायी बनाउन सरकार गम्भीर नबनेको राष्ट्रियसभा अध्यक्षको टिप्पणी

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले बिजनेस दिन नसकेका कारण संसद् प्रभावकारी हुन नसकेको बताएका छन्।

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसद्को वर्षे अधिवेशन उपलब्धिमूलक नभएको टिप्पणी गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले सरकारले अघिल्लो अधिवेशनमा पेस गरिएको अत्यावश्यक विधेयकसमेत वर्षे अधिवेशनमा नल्याउँदा सदनको कामकारबाही फलदायी हुन नसकेको टिप्पणी गरेका हुन्। उनले सरकारका मन्त्रीहरूले आफैँले प्रस्तुत गरेको विधेयकका बारेमा अपवादबाहेक चासोसमेत नलिएको गुनासो गरे। संक्रमणकालीन न्याससँग सम्बन्धित तथा संघीय निजामती सेवाजस्ता अत्यावश्यक विधेयकसमेत सरकारले संसद्मा नल्याएको उनले स्मरण गराए।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले सरकारलाई विधेयक ल्याउन ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ नभएको टिप्पणी गरे। सरकारले विधेयक ल्याउन नसकेका कारण संसद् प्रभावकारी हुन नसकेको उनको दाबी थियो।

“संसद्को बैठक चालु छ भने, बिजनेस पनि हुनुपर्छ। अब यसो हेर्दा खेरी त संसद्मा केही गरेन। हाउसले केही गरेन भन्ने सिधा अर्थ त त्यही हुन्छ। तर त्योभित्र त्यसलाई सञ्चालन गर्ने, त्यसलाई नियमित गर्ने र त्यसलाई प्रभावकारी बनाउने कुरामा त्यसको नेतृत्व गर्ने अध्यक्षको, त्यो सभाका माननीय सदस्यहरूको एउटा भूमिका हो भने त्यसलाई काम दिने मुख्यतः सरकारको हो। यसकारण सरकारले जति धेरै विधेयक लिएर आयो, त्यति व्यस्त हुने हो। त्यो हिसाबले सरकारले धेरै विधेयकहरू ल्याउन सकेन,” उनले भने।

अध्यक्ष तिमिल्सिनाले सरकारले बिजनेस नदिएपछि आफूले पटक–पटक राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगित गर्नुपरेको जनाए। सरकारले गैरसरकारी विधेयकलाई संसद्मा प्रोत्साहित गर्न नचाहेको पनि टिप्पणी गरे। गैरसरकार विधेयकका रूपमा राष्ट्रियसभाबाट गत मंगलबार राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको थियो। गैरसरकार विधेयक सरकारकै अंग बन्ने भए पनि त्यसलाई संसद‍्बाट पास गराउन सरकार अनिच्छुक देखिएको उनको भनाइ थियो।