जर्मनीले गर्‍यो हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्धको घोषणा

जर्मनीकी गृहमन्त्री न्यान्सी फेसरले हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिक रूपमा प्रतिबन्ध लगाइएको बताइन्।

जर्मनीले हमासका गतिविधिमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। जर्मनीले इजरायलविरोधी गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरू फैलाउने एउटा प्यालेस्टिनी समर्थक समूहलाई विघटन गर्न भनेको पनि समाचार संस्था अल जजिराले उल्लेख गरेको छ।

जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले बिहीबार हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिक रूपमा प्रतिबन्ध लगाइएको बताइन्। हमासलाई जर्मनीले ‘आतंकवादी’ संगठन मानेको छ। “इजरायललाई नष्ट गर्ने उद्देश्य राखेको आतंकवादी संगठन हमासका गतिविधिमाथि मैले आज पूर्ण रूपमा प्रतिबन्ध लगाएको छु,” मन्त्री फेसरले भनिन्।

जर्मनीको निर्णयप्रति अल जजिरालाई प्रतिक्रिया दिँदै लेबनानमा रहेका हमासका एक अधिकारीले उक्त कदमबाट जर्मनी प्यालेस्टिनी नागरिकविरुद्धको अपराधमा इजरायलसँगको साझेदार हो भन्ने बुझिएको बताए।

“जर्मन राजनीतिक मानसिकता एउटा नरसंहार मानसिकता हो, जसले सबै मानिसलाई प्रभावित गर्दछ र एउटा पार्टी वा अन्य कुनैसम्म सीमित छैन भन्नेबारेमा प्रश्न गर्न यसले हामीलाई ठाउँ दिएको छ,” लेबनानमा रहेका हमासका प्रतिनिधि ओसामा हमदानले भने।

यसबाहेक मन्त्री फेसरले हमाससहितका समूहरूको ‘समर्थन र महिमामण्डन गर्ने’ समिडोन नेटवर्कको जर्मन शाखामाथि प्रतिबन्ध लगाएर त्यसलाई भंग गर्ने जानकारी दिइन्। 

हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको हमलाको समर्थनमा समिडोनले बर्लिनको एक सडकमा पेस्ट्री बाँडेर खुशियाली मनाएको थियो। 

“इजराइलविरुद्ध हमासको भीषण आतंकवादी हमलाको जवाफमा जर्मनीमा स्वतःस्फूर्त ‘खुशियाली समारोह’ आयोजना गरेर समिडोनले घृणित तरिकाले यहुदीविरोधी र अमानवीय विश्व दृष्टिकोण प्रदर्शन गरेको छ,” उनले भनिन्।