कांग्रेस सभापति देउवाले संघीयतामाथिका छिटपुट गुनासालाई स्वाभाविक मानेका उल्लेख गर्दै संविधान कार्यान्वयनमा आएका समस्या समाधान गरेर अगाडि बढ्न सकिने बताए।
बागलुङ– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताएका छन्।
नेपाली कांग्रेस बागलुङले शुक्रबार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटपुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गरे। सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राखे।
“नेपालको संविधानको कार्यान्वयन र संघीयताको विषयमा छिटपुट गुनासालाई हामीले स्वाभाविक मानेका छौँ”, सभापति देउवाले भने, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शंका गर्न पर्दैन। नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ।”
सभापति देउवाले नेपाली कांग्रेस पुनः संगठित र थप मजबुत हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद पक्ष रहेको बताए। कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुत हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिए। उनले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गरे। कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताए।
सभापति देउवाले बागलुङमा कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गरेका थिए। सो अवसरमा सभापति देउवाले शहीद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए। जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए।
सो अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताए। कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरू पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताए। पूर्वगृहमन्त्री समेत रहेका सिटौलाले मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने धारणा राखे।
“संविधानले परिकल्पना गरेको संघीयता संरचनाअनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भूमिका खेल्नु पर्छ,” उनले भने। नेता सिटौलाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको समेत बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
