कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

नवनियुक्त मन्त्री उप्रेति नेकपा माओवादी केन्द्र र जवेगु नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य हुन्।

विराटनगर– कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको छ। मन्त्रिपरिषद्मा दुईजना मन्त्री थपिएका हुन्। माओवादीका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्रिपरिषद्मा थपिएका हुन्।

दुवै मन्त्रीले शुक्रबार शपथ लिएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ गराएका हुन्।

असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले यसअघि मन्त्रिपरिषद्मा एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री कार्कीसहित अब कोशी प्रदेश सरकार पाँच सदस्यीय बनेको छ।

पुराना र नयाँ थपिएका सबै मन्त्रीहरू हाल बिनाविभागीय छन्। गठबन्धन दलहरूबीच छलफल भएपछि उनीहरूलाई जिम्मेवारी दिइने भएको छ।