शिवपुजनको 'विरासत': छोरा गाउँपालिका अध्यक्ष, श्रीमती समानुपातिकमा, छोरी स्वतन्त्र उम्मेदवार

रातो पासपोर्ट दुरुपयोगमा दोषी ठहर भएर उम्मेदवार बन्न नपाएका शिवपुजनले छोरालाई गाउँपालिका अध्यक्ष मात्र बनाएनन्, श्रीमतीलाई माओवादीको समानुपातिक र छोरीलाई सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन्।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता शिवपुजन राय आफू उम्मेदवार छैनन्। तर उनको व्यस्तता उम्मेदवारको भन्दा कम छैन। उनको यो व्यस्तता यसपटक मात्र होइन, गएको स्थानीय तह निर्वाचनमा पनि थियो।

त्यस निर्वाचनमा उनले छोरालाई माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी गराएका थिए। यसपटक श्रीमती मिनादेवी यादवलाई माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार बनाएका छन्। छोरीलाई भने सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन्।

गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा शिवपुजनले २२ वर्षिय छोरालाई रामनगर गाउँपालिका प्रमुखमा विजयी बनाए। त्यतिले मात्र नपुगेर पारिवारिक विरासत नै खडा गर्न लागेका छन्। उनी आफू उम्मेदवार हुन नपाएपछि परिवारलाई अघि सारेको उनी खुलमखुला बताउँछन्।

उम्मेदवार हुन नपाउनुको पीडा
२०७४ भदौ १९ गते यादव तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) छोडेर माओवादी केन्द्र प्रवेश गरेका थिए। २०७४ सालको निर्वाचनमा सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए पनि निर्वाचन लड्न पाएनन्।

प्रतिनिधिसभा निर्वाचन ऐनमा फौजदारी अभियोगमा दोषी ठहर भएको व्यक्तिलाई उम्मेदवार हुन रोक लगाइएको छ। कुटनीतिक राहादानी दुरूपयोगको आरोपमा विशेष अदालतले दोषी ठहर गरेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। 

निर्वाचनको १० दिन अघि  आयोगले उम्मेदवारी खारेज गरेपछि यादवले सर्वोच्च अदालतमा रिट हालेका थिए। आयोगले उनको उम्मेदवारी मंसिर ११ गते खारेज गरको थियो। तर निर्वाचनको एक दिनअगाडि सर्वोच्चले आयोगको निर्णयलाई सदर गरिदिएको थियो।

२०६३ को मधेश आन्दोलनसँगै राजनीतिमा सक्रिय भएका यादव पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए। उनले सर्लाही-६ मा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका अमरेशकुमार सिंहलाई पराजित गरेका थिए। त्यही बेला उनलाई राहदानी दुरूपयोग गरेको आरोप लागेको थियो।

उनले आफ्नो राहदानीमा अन्य व्यक्तिलाई विदेश पठाएको आरोपमा अख्तियारले विषेश अदालतमा मुद्दा चलाएको थियो। विषेशले यावदलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानासमेत तोकेको थियो। सरकारी कागजात किर्ते गरेको आरोप पनि यादवलाई लागेको छ। यादव २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पार्टी बदलेर महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्‍भावना पार्टीबाट सर्लाही-६ मा उम्मेदवार बनेका थिए, तर पराजित भए। उनलाई कांग्रेस नेता अमरेश सिंहसँग पराजित गरेका थिए।

आफू संसदीय राजनीतिमा आउने बाटो बन्द भएपछि यादवले अहिले परिवारलाई नै राजनीतिमा ल्याएका छन्। आफूलाई मुद्दा लागेपछि चुनाव उठ्न नपाउँदा क्षेत्रका जनाताहरुले 'तपाईं नभए पनि तपाईंकै परिवारबाट कोही सांसद हुनुपर्छ' भनेपछि छोरीलाई स्वतन्त्र उम्मेदवार बनाउन बाध्य भएको यादवले उकालोसँग बताए।

छोरा गाँउपालिका अध्यक्ष
यादवले गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा २२ वर्षिय छोरा राजाबाबुलाई माओवादी केन्द्रबाट उम्मेदवार बनाएका थिए। राजाबाबु काठमाडौंस्थित एपेक्स कलेजमा बीबीएमा अध्ययनरत थिए। उनले कांग्रेसका ४१ वर्षीय हरिनन्दप्रसाद यादवलाई एक हजार ६८९ मतान्तरले पराजित गरेका थिए। 

राजाबाबुले चार हजार ८१ मत ल्याएका थिए। हरिनन्द राजाबाबुकै काका हुन्। तेस्रो स्थानमा रहेका एमालेका पुरुषोतमप्रसाद चौधरीले एक हजार ६३४ मत प्राप्त गरेका थिए। रामनगर गाउँपालिकामा निर्वाचित राजाबाबु देशैभरीका स्थानीय तहका प्रमुखहरूमध्ये सबैभन्दा कान्छा  हुन्।

संसदीय राजनीतिमा एकसाथ छोरी र श्रीमती
आगामी प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध छोरीलाई उठाए पनि माओवादी केन्द्रले कारबाही गरेको छैन। आफूले प्रचण्डसँगको सल्लाहमा नै छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको उनको दाबी छ। उम्मेदवार बनेकी उनकी छोरी मधुमालाले वीर अस्पतालमा करार सेवाको स्टाफ नर्सको जागिर त्यागेकी छन्।

दिनरात जनताको सेवामै लागेकाले आफू लोकप्रिय भएको र त्यसैको बलमा छोरीले चुनाव जित्ने यादवको दाबी छ। “जनताको सेवा गर्नुबाहेक मेरो कुनै काम छैन, अरू नेताहरू भोट बटुलेर सिधै काठमाडौँ हिडिहाल्छन्। तर म त सधैँ जनताको साथमा हुन्छु। जनताको सेवा गरेकै प्रतिफल हो मेरो लोकप्रियता”, उनले भने। 

सर्लाही-४ मा सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्र राय यादव उम्मेदवार छन्। तर उनले गठबन्धन दलको साथ नपाएको बताए। “क्षेत्रमा मेरो अवस्था राम्रो छ, तर जुन प्रकारको साथ गठबन्धनबाट पाउनु पर्ने थियो त्यो पाएको छैन”, उनले भने। 

शिवपुजनले सारा राजनीतिक पद आफ्नै परिवारमा सीमित राख्न खोजेको पनि उनले बताए। “छोरा गाउँपालिका अध्यक्ष छँदैछ, भतिजोलाई प्रदेशमा लडाइदिनु भयो। समानुपातिकमा माओवादीबाट श्रीमतीको नाम मधेसी ‘क्लस्टर’ बाट १ नम्बरमै छ। त्यतिले पनि नपुगेर छोरीलाई मेरैविरुद्ध खडा गराइदिनु भयो, जबकि उहाँले नै मलाई यस क्षेत्रमा अमरेश सिंहलाई जसरी पनि हराउनुपर्छ भन्दै गठबन्धनबाट उठ्न आग्रह गर्नुभएको थियो”,  नागेन्द्रले उकालोसँग भने।

यो क्षेत्रमा दुई स्वतन्त्र उम्मेदवार मधुमाला र अमरेशकुमार सिंहबीच प्रतिस्पर्धा छ। स्वतन्त्र उम्मेदवार सिंह पनि आफ्नो प्रतिस्पर्धा मधुमालासँगै हुने बताउँछन्। “शिवपुजनकी छोरी को कुनै राजनीतिक योगदान छैन। तर जातिगत भोट भएकोले मसँग प्रतिस्पर्धा हुनसक्छ”, उनले भने, “मधेशमा जातपातको राजनीति अलिक बढी हुन्छ, सिद्धान्त र निष्ठा नभए पनि उनीहरू यादव हुन्। बढीमा यादवको भोट आउने हो।”