भूकम्प अपडेट: जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि, १४० घाइते

भूकम्पबाट जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन्। 

काठमाडौँ– जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो। यस्तै, भूकम्पबाट जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन्। 

घाइतेहरूको जाजरकोट र सुर्खेत अस्पतालमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए। “रातिको समय भएकोले उद्धारमा कठिनाइ भयो। अहिले उद्धार जारी छ,” उनले भने।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक  विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ। यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ। 

भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन्। त्यहाँ मानवीय क्षति नभएको उनले बताए। भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नं ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोट प्रस्थान गरेको छ। यस्तै नं ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको छ। नम्बर २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ। 

 यस्तै बाँकेस्थित नम्बर ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ। नेपाल एपीएफ अस्पताल बलम्बु बाट डा. रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनााएको छ। 

यसैगरी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।